कब्रस्तान सिल भएपछि मृतकको अन्त्यष्टिमा समस्या, दुई दिनदेखि घरमै शव



धनगढी : धनगढी उपमहानगरपालिका–१ पशुपतिटोलमा रहेको चिहान (कब्रस्तान) सिल भएपछि मुस्लिम समुदायका मृतकको अन्त्यष्टिमा समस्या भएको छ ।

कब्रस्तान सिल भएपछि शुक्रबार बिहान मृत्यु भएका धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय मोहमद जमसेदको शव व्यवस्थापनमा समस्या भएपछि उनको शव व्यवस्थामा समस्या भएको हो । दुवै मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएका जमसेदको शव दुई दिनदेखि घरमै राख्न परिवार बाध्य भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी उपमहानगरपालिका–२ की ५७ वर्षीया मुस्लिम महिलाको बिहीबार नेपाली सेनाले शव व्यवस्थापन गरेपछि स्थानीयले बिरोध गरेका थिए । स्थानीयको विरोधपछि स्थानीय प्रशासनले चिहान सिल गरेको हो ।

यता स्थानीय प्रशासन र पशुपति टोलका स्थानीयले भने निर्धारित चिहानमा नभइ मोहना नदीमा गाड्न सल्लाह दिएका छन् । सद्दामले भने आफ्नो बुवाको शव मुस्लिम संस्कार अनुसार तोकिएको स्थानको चिहानमै गाड्ने परम्परा भएकाले त्यहीँ गाड्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले शनिबार दिउँसोसम्म प्रशासनले निकास नदिए आन्दोलित हुने चेतावनी समेत दिएका छन् ।

पशुपति टोलस्थित नेपाली नुरी जामे मस्जिदका कार्यवाहक अध्यक्ष मोहमद यामिनले शव व्यवस्थापनका लागि शुक्रबार बिहानैदेखि जिल्ला प्रशासनसँग अनुरोध गर्दै आएको र आश्वासन मात्रै दिइएको बताए । शनिबार दिउँसोसम्म शव व्यवस्थापनको निकास नआए आन्दोलित हुनुको विकल्प नरहेको उनले बताएका छन् ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्