पछिल्लो २४ घण्टामा विराटनगरमा ६ जना कोरोना संक्रमितको मृत्यु



विराटनगर : विराटनगरमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा र मोरङका २–२ तथा सुनसरी र उदपयपुरका एक–एक जना छन् । जसमध्ये नोबेल मेडिकल कलेजमामात्रै चार जनाको मृत्यु भएको छ ।

कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी नगरपालिका–१, झापाकी ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । १३ गते अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

यसैगरी विर्तामोड, झापाका ७५ वर्षीय पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । निमोनियाको समस्या देखिएका उनको शनिबार मध्याह्न १२ः३० बजे मृत्यु भएको छ ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका–१०, मोरङकी ६९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । कात्तिक १० गते कोरोना पुष्टि भएकी उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

इटहरी, सुनसरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि नोबेल मेडिकल कलेज पु-याउँदा एम्बुलेन्समा मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शुक्रबार अस्पताल ल्याउने क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यसैगरी विराटनगर–३, मोरङका ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएको कलेजको आईसोलेसन ईन्चार्ज सुनिल देवले जानकारी दिए ।

त्यस्तै उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिवार विहान मृत्यु भएको छ ।

म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताका अनुसरा शुक्रबार साँझ अस्पताल भर्ना भएकी उनको बिहान करिब ७ बजे मृत्यु भएको हो ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्