कोठा नपाएपछि सौराहा पुगेका पर्यटक फर्किए 



चितवन :  चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका १ सय १० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

“करीब करीब २५र३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भने , “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा आन्तरिक पर्यटक बढेको घिमिरेको भनाइ छ । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् ।

अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । घिमिरेका अनुसार क्षेत्रीय होटल सङ्घ चितवनअन्तर्गत चितवन, नवलपुर र हेटाँैडामा डेढ सय पर्यटकीय होटल छन् । ती सबै होटल नयाँ वर्षमा अग्रिम बुकिङ भएका छन् ।

“नयाँ वर्षमा सौराहा आउने पर्यटक कोठा नपाएर समेत फर्कनुपरेको छ, घिमिरेले भने , अधिकांश होटल अग्रिम बुकिङ हुने भएकाले आन्तरिक पर्यटकले पनि पहिले नै कोठा बुकिङमा ध्यान दिनुपर्छ ।” सङ्घका सचिव दामोदर रेग्मीले यस वर्ष २० प्रतिशतले आन्तरिक पर्यटक बढेको जानकारी दिए ।

सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक करीब पाँच हजार ५०० पर्यटक राख्न सकिने क्षमता छ । सौराहासँगै पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौली पनि आन्तरिक पर्यटकले भरिएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् ।

वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।

 

प्रतिक्रिया दिनुहोस्