नागरिक सरकारको माग गर्दै सुडानमा बृहत् प्रदर्शन



एजेन्सीः  सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्को चाबी अन्तरिम नागरिक सरकारलाई हस्तान्तरण गर्न माग गरेको छ । तत्कालीन राष्ट्रपति ओमार अल बसिरलाई पदच्युत गरी सेनाले नै सैन्य परिषद् गठन गरेको घोषणा गरेपछि विपक्षी गठबन्धनले नागरिक सरकारको माग गरेका हुन् । विपक्षी गठबन्धनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न नागरिकस्तरबाट सरकार बनाउनुपर्नेमा जोड दिएको छ । विभिन्न पेसागत संगठनसमेत सम्मिलित गठबन्धनले सैन्य परिषद्को नेतृत्व गरेका लेफ्टिनेन्ट जनरल अब्देल फत्ताह अल बुर्हान अब्देल रहमानलाई विपक्षीको आवाज सुन्न आग्रह गरेको छ । तर, सेनाले दुई वर्षका लागि परिषद् गठन गरिएको र त्यसपछि लोकतान्त्रिक प्रक्रियामार्फत नागरिक सरकार गठन हुने जनाएको छ ।

सुडानमा ३० वर्षदेखि शासन गरेका तत्कालीन राष्ट्रपति बसिरलाई हटाएर सैन्य परिषद् गठन गरेपछि दिनहुँ प्रदर्शन भइरहेका छन् । सन् १९८९ मा ‘कु’ मार्फत सत्तारोहण गरेका बसिरलाई सेनाकै उच्च अधिकारीले बिहीबार सत्ताच्युत गरेका थिए । 

यसअघि निवर्तमान राष्ट्रपति बसिरलाई च्युत गरेपछि गठन भएको अन्तरिम सैन्य परिषद्का अध्यक्ष तथा तत्कालीन रक्षामन्त्री अवाद मोहम्मद इब्न औफले राजीनामा दिएका थिए । राजीनामापछि उनले लेफ्टिनेन्ट जनरल रहमानलाई जिम्मेवारी सुम्पिएका थिए । इब्न औफको बहिर्गमनपछि प्रदर्शनकारीले खार्तुममा खुसियाली मनाएका थिए । प्रदर्शनको नेतृत्व गरेको द सुडान प्रोफेसनल्स एसोसिएसनले पद छाड्ने इब्न औफको निर्णय आफूहरूका लागि ‘जित’ भएको बताएको छ । डार्फर द्वन्द्वमा इब्न औफ सैनिक गुप्तचर निकायका प्रमुख थिए । अमेरिकाले सन् २००७ मा उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रदर्शन उग्र, कर्फ्यु अवज्ञा

निवर्तमान राष्ट्रपति बसिरलाई सत्ताच्युत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारी राजधानी खार्तुममा लगाइएको कफ्र्यु अवज्ञा गर्दै सडकमा उत्रिएका छन् । चिकित्सक, शिक्षक र इन्जिनियरहरूको पेसागत सञ्जालले प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ । प्रदर्शनकारीले सेनाका उच्च अधिकारी सम्मिलित संक्रमणकालीन सैनिक परिषद्लाई अस्वीकार गरेका छन् । उनीहरूले पुरानै सत्ताको पुनरागमन भएकाले सैनिक नेतृत्व स्विकार्न नसकिने बताएका छन् । 

तीन दशकदेखि बसिर नेतृत्वको सरकारले मुलुकलाई बन्धक बनाएको भन्दै विपक्षी गठबन्धनले लोकतान्त्रिक सरकार गठन नहुँदासम्म प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेको छ । प्रदर्शनका क्रममा राजधानी खार्तुमका अधिकांश पसल र कार्यालय बन्द छन् । खार्तुमसँगै सुडानको अर्को ठूलो सहर ओम्डुरमानमा पनि प्रदर्शन भइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्