उद्घाटन खेलमा पाेखरा पल्टनद्वारा विराटनगर टाइटन्ससामु १९८ रनकाे लक्ष्य



पोखरा :  पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई १ सय ९८ रनको लक्ष्य दिएको छ।

 

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा केवल ३ विकेटको क्षतिमा १ सय ९७ रन जोड्यो।

 

पोखराका लागि ओपनर आफिस शेखले अर्धशतक प्रहार गरे। उनले ५२ रनको योगदान गरे। आसिफले ५४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले ३८ रनको योगदान गरे। उनले २६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

 

यस्तै रवीन्द्र सिंहले ४४ रन जोडे । आक्रामक ब्याटिङ गरेका उनले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरे। भारतीय ब्याट्सम्यान सिंहलाई विराटनगरका सन्दीप लामिछानेले बाउन्ड्री लाइनमा प्रनित थापामगरबाट क्याच गराएका थिए । उनले दोस्रो विकेटका लागि आसिफसँग ९४ रनको साझेदारी गरेका थिए। 

 

यस्तै विनोद भण्डारीले ११ बलमा नटआउट ४१ रन जोडे। उनले २ चौकार ५ छक्का हिर्काए। उनले अन्तिम बलमा सहाब अलामलाई छक्का प्रहार गरेपछि पोखराको इनिङ मजबुत बनेको थियो। सरद भेषवाकरले ४ बलमा नटआउट ७ रन जोडे।  

 

बलिङमा विराटनगरका सन्दीप लामिछानेले २ विकेट लिए। १ विकेट साहब आलामले हात पारे। 

प्रतिक्रिया दिनुहोस्