कोरोना संक्रमणबाट बाराका काँग्रेस महासमिति सदस्य मण्डलको मृत्यु



वीरगञ्ज : बाराका नेपाली काँग्रेस महासमिति सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिकाको टेढाकट्टी घर भएका ४५ वर्षीय संक्रमित मदन मण्डललाई थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तीन दिन पहिले श्वासप्रश्वासमा समस्या भएर सिकिस्त भएपछि मण्डललाई बाराको कोल्हवीकै स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोनाको आशंका भएपछि मण्डललाई शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको थियो ।

शनिबार नै स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मण्डलमा पोजेटिभ पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि मण्डललाई नारायणी अस्पतालका चिकित्सकले वीरगञ्जकै बाबा होटेलमा सञ्चालित कोभिड अस्पतालमा लैजान सुझाएका थिए । तर आफन्तले काठमाडौंको नर्भिक अस्पतालमा लैजाने क्रममा मण्डलको आइतबार बिहान बाटोमै मृत्यु भएको काँग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए ।

यसैगरी बाराको निजगढ नगरपालिका–९ का ६२ वर्षीय पुरूषको वीरगञ्जस्थित बाबा होटलमा नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएका ती पुरुषमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्