‘सबै नेपालीको बैंक खाता’ अभियान सुरु, खाता खोलेपछि बैंकले १ सय रुपैयाँ जम्मा गरिदिने



काठमाडौं : नयाँ वर्षको पहिलो दिनदेखि सरकारले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा’ र ‘सबै नेपालीको बैंक खाता’ अभियान अघि सारेको छ । ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले नयाँ अभियान सुरु गरेको हो । अभियानको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । 

नयाँ वर्षबाट सुरु भएको नेपालीको बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपी ओलीका बाबु मोहन प्रसाद ओलीबाट गरियो । मोहन प्रसाद ओलीको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलेर अभियान सुरु गरिएको हो । 

राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा केपी शर्मा ओलीकी सासु धनमाया शाक्यको पनि खाता खोलिएको छ ।

चालू आर्थिक वर्षको नीति थाता कार्यक्रममा नै हरेक नेपालीको बैंक खाता कार्यक्रम उल्लेख गरिएको थियो । उक्त कार्यक्रमअनुसार सरकारले बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

अभियानअनुसार बैंकहरुले नै खाता खोलेपछि १ सय रुपैयाँ जम्मा गरिदिनेछन् । उनीहरुले सरकारी अभियानलाई सघाउन बचत खाता खोल्ने ग्राहकलाई सय रुपैयाँ बोनस थप्नेछन् ।

यस्तो खाता बैंकहरुको शाखा तथा एक्सटेन्सन काउन्टरमार्फत सहजै नागरिकता, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र वा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्