कारागारको रड काटेर दुई अभियुक्त फरार, ड्युटीमा रहेका प्रहरी नै शंकाकाे घेरामा



विराटनगर : नेपाल-भारत सीमानामा रहेको विराटनगरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) रानीको हिरासत कक्षको रड काटेर बिहीबार राति हत्याका दुई अभियुक्त फरार भएका छन्। कर्तव्य ज्यान तथा अपहरण मुद्दा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका दुई थुनुवा प्रहरीको लापरवाहीका कारण भाग्न सफल भएका हुन्।

 

फरार हुने थुनुवामा विराटनगर महानगरपालिका- १७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन रहेका छन् । आरिफ र हुसेनलाई अपहरण गरेर आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।

 

उनीहरुले आफ्नै साथी विराटनगर-१७ रानीका १९ वर्षीय मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेको प्रहरीको भनाइ छ । अस्ताकको शब हत्या गरेर फ्यालेको अवस्थामा गत असोज ७ गते ह्युम पाइप मुनी फेला परेको थियो।

 

घटनालगत्तै दुवैजनालाई पक्राउ गरेर प्रहरीले अदालतको अनुमतिमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानको पाटो नसकिंदै ड्युटीका प्रहरीको लापरवाहीका कारण अभियुक्त भने प्रहरी हिरासतमा रहेको भेन्टिलेसनको रड काटेर फरार भएका हुन्। 

 

२४ घण्टा सुरक्षाका लागि हतियारसहित प्रहरी खटाइएको हुन्छ। थुनुवाले फलामको रड काट्दासम्म पनि हिरासत सुरक्षार्थ खटाइएका प्रहरीले थाहा नपाउनुलाई लापरवाहीका रुपमा लिइएको छ। 

हिरासत कक्षमा हावा पास हुनका लागि पूर्वतर्फ राखिएको भेन्टिलेसनको ६ वटा रड काटेर थुनुवा भागेको गम्भीर घटनाको सबै पाटोबाट अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

 

केसीले भागेका थुनुवाको खोजी भने तीव्र बनाएर घटनाका बारेका अनुसन्धान सुरु गरिसकिएको जानकारी दिए। भारततर्फ भागेको हुनसक्ने आशंकामा उनीहरुलाई पक्राउ गर्नका लागि भारतीय प्रहरीसँग पनि समन्वय गर्ने काम भइरहेको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्