काँग्रेस पदाधिकारी बैठक आज बस्दै



काठमाडौं : आगामी फागुनमा हुने १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज (सोमबार) नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै छ ।

सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने भएको हो । बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने उनले बताए ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते शुक्रबारको लागि बोलाइएको छ । काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशन तालिका सार्वजनिक गरेको छ । तर, कोरोना महामारीका बढ्दै गएका कारण महाधिवेशन प्रभावित हुने देखिएको छ ।

प्रकाशित : कात्तिक १७, २०७७

प्रतिक्रिया दिनुहोस्