‘काण्डै–काण्डको सरकार सुन्दा दुःख लाग्छ’



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अत्यन्त खरो स्वभावका रुपमा परिचित मातृका यादवले विभिन्न समयमा विभिन्न मन्त्रालयको अनुभव सँगालिसक्नुभएको छ । पार्टीभित्र होस् वा बाहिर, सरकारमा रहुन् वा बाहिर आफ्नो छुट्टै शैली र पहिचान बनाउनुभएका यादव नेकपाको स्थायी कमिटी सदस्यसमेत हुनुहुन्छ । धनुषाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवसँग द नेपालटपकी संवाददाता आशा साहले नेकपा, सरकार, मधेश र प्रदेश २ लगायत विभिन्न समसामयिक राजनीतिक विषयमा केन्द्रित रही कुराकानी गर्नुभएको छ । उहाँसँग गरिएको कुराकानीको प्रमुख सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

तपाई प्रदेश २ बाट नेकपाको प्रतिनिधिसभाका सदस्य हुनुहुन्छ । पार्टी अहिले विवादै विवादबाट चौतर्फी घेराबन्दीमा अघि बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको अन्तर संघर्षले गर्दा नेकपा अहिले पनि ठोस रुपमा एक न भएको प्रष्ट हुन्छ । के लाग्छ तपाईलाई ?
– हरेक विपरित तत्वहरुको एकत्व हुन्छ र पार्टी पनि एउटा वस्तु हो । त्यहाँ विचारहरु फरक–फरक हुन्छ । फरक–फरक भए पनि सबै एक ठाउँमा हुन्छ । यसलाई दुई अध्यक्षबीचको भन्नुभन्दा पनि केही समस्या होला, केही सकारात्मक पक्ष होला, केही नकारात्मक पक्ष होला त्यो त निरन्तर पार्टीभित्र बहस हुने हो । एउटा समस्या समाधान भएपछि पुनः अर्को समस्या आउँछ । समाधान भइसकेको कुरा सरल हुन्छ र त्यहीबाट पुनः अर्को समस्या पैदा हुन्छ र पछि त्यो पनि समाधान हुन्छ । त्यसैले हामीले के बुझ्नुपर्छ भने–यो निरन्तर पार्टीभित्र अन्तर संघर्षहरु चलिरहन्छ । यसमा कुन विचार हावी हुन्छ । दुई अध्यक्षकै सहमतिअनुसार देशलाई समाजवादी रुपान्तरणतिर लैजानुपर्छ भन्ने सहमति भएको हो ।

यस विषयमा स्थायी समितिले पनि निर्देशन दिएको छ । सचिवालय बैठक बसेर पनि उहाँहरुले छलफल गर्नुभएको छ । यो जटिल काम हो यसलाई सरल रुपमा बुझ्नु ठीक हुन्न । यो समस्या समाधान भएपछि पुनः जटिल समस्या आइहाल्छ । पछिल्लो समय कार्यकर्तादेखि सबै जनाले पार्टी फुट्छ–पार्टी फुट्छ भन्नुभएको थियो । यस विषयमा एकातिर चिन्ता गर्ने व्यक्तिहरु थिए, तर पार्टी फुटेन । अर्को तिर रमाउने मानिसहरु पनि थिए । त्यसैले हरेक कुराको दुई वटा पक्ष हुन्छ । पछि एक ठाउँमा आउने घोषणा भएपछि सबै रमाए भने पार्टी फुट्नुपर्छ भन्ने व्यक्तिहरु दुःखी भए होला । त्यसैले पार्टीभित्र निरन्तर रुपमा विवाद चलिराख्ने विषय हो । तसर्थ यस्ता विवादलाई सकारात्मक ढंगले व्यवस्थापन गर्नुपर्छ ।

पार्टीभित्र यति विवाद छ भने जनताको गुनासो र समस्या सरकारबाट कसरी समाधान हुन्छ ?
– यो आम जनताकै गुनासो हो ।

सत्ताको विषयमा विवाद हुँदा यो कसरी आम जनताका गुनासो भए ?
– हामी जनता हैनौ ? हामीलाई भोट दिने जनता जनता होइनन् ? त्यसैले पार्टी पनि जनताकै प्रतिनिधित्व गर्ने हो । खाली कार्यकर्ता, नेताहरुको मात्रै पार्टी होइन । देश र जनताको यावत समस्याहरु हल गर्न पार्टी निर्माण भएको हो । यहाँ मानिसहरु नेताहरुको स्वार्थ, फलानोको स्वार्थ भन्छन् । यहाँ नेताहरुका मात्रै स्वार्थ भयो भने पार्टी नै खतम हुन्छ । जनताको सही स्वार्थ र केही व्यक्तिको गलत स्वार्थको बीचमा पनि समस्याहरु हुन्छ । त्यसैले के बुझ्नु पर्छ भने–कतै न कतै बुझाइहरुमा समस्या भएकोले नै समस्या भएको हो । बुझाइमा बहस हुन्छ, छलफल हुन्छ त्यसपछि एकरुपता भएपछि अगाडि बढ्छ ।

राजनीतिक वृत्तमा खबर छ कि यो झगडाभन्दा दुई नेताबीचको सत्ता संघर्षका लागि रगडाको लडाई हो । कति को सहमत हुनुहुन्छ यस भनाईसँग ?
– यसलाई म दुई नेताबीचको लडाइ मान्दै मान्दिन । दुई विचारका बीचमा दुई नेताबीच मूलभूत रुपमा सहमति भएको हो । दुई नेताबीचको कार्यान्वयनमा सहमति होला कसरी अगाडि बढ्ने भन्ने कुरामा । त्यो भइरहने कुरा हो ।

दुई नेताबीच सहमतिमा अगाडि बढ्ने कुरा गर्नुहुन्छ । तर, पछिल्लो समय मन्त्रालयमै भागवण्डा नमिलेको कारण मन्त्रिमण्डल पुनः गठन हुन समस्या भएको भनिन्छ नि ?
– मलाई त्यस्तो लाग्दैन । पहिला त कुन मोडलमा मन्त्रिमण्डल पुनः गठन गर्ने त्यो कुरा सचिवालयले प्रस्ट गर्नुपर्थ्यो । मोडलमै अहिले समस्या छ, मन्त्रिमण्डल पूरै परिवर्तन गर्ने कि, आधा परिवर्तन गर्ने कि भन्ने प्रष्ट भएन । प्रधानमन्त्रीजी स्वयम्ले तीन वटा कुरा राख्नु भएको थियो । उहाँहरु दुई जनाको बीचमा म बस्ने मानिस होइन । तर, मलाई के लाग्छ भने मोडलमै समस्या छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार अगाडि बढिरहेको छ । प्रधानमन्त्री स्वयम्ले समृद्धिको नारा जनता समक्ष आफ्नो भाषणमा प्रचार गर्नुभयो, तर सरकार समृद्धिको नाममा भ्रष्टाचारमा लिप्त भएको छ । कोभिड–१९ को महामारीको बेलामा पनि स्वास्थ्य जस्तो मानव संवेदनासँग जोडिएको सवालमा नेकपा सरकार काण्डै काण्डहरुमा मुच्छिएका आरोप छन् नि ?
– काण्डै–काण्ड सही हो की गलत हो त्यसको छानबिन पछिको कुरा हो । तर, काण्डै–काण्डको कुरा उठ्दा जसलाई पनि दुःख लाग्छ । देश र जनताप्रति थोरै पनि सम्वेदनशील मानिसहरुलाई यस्ता कुराले दुःख लाग्छ । त्यसलाई हामीले प्रस्ट पार्ने कुरा होइन यसलाई सत्तामा बस्नुभएका साथिहरुले प्रस्ट पार्नुपर्छ । साथै सत्तामा बस्ने साथिहरुले हामीलाई यस्ता खाले कुराहरु आइरहेको छ भनेर भन्नुपर्छ ।

नेपालमा एउटा के देखियो भने–यति भ्रष्टाचार भयो विगतदेखि, जम्मैलाई भ्रष्टाचारी नै देख्छन् । चाहे त्यो व्यक्तिले भ्रष्टाचार गरोस् वा नगरोस् । यस विषयमा पार्टी र सरकारले प्रस्ट गर्नुपर्छ । भ्रष्टाचार गरेको छ भने कारबाही गर्नुपर्छ । आफ्नो मान्छे छ भने बचाउने, आफूलाई आलोचना गर्नेलाई फसाउने त्यस्तो हुँदैन । यो एउटा भ्रष्टाचारको मात्र विषय होइन् यो सबै विषय हो । त्यसैले हामीले के गर्नुपर्छ भने–सत्यतथ्य जनतालाई जानकारी दिनुपर्छ । देशमा जम्मै चोर, जम्मै भ्रष्ट भएपछि मुलुकमा कोही राम्रो मान्छे छैन भन्ने सन्देश जनता समक्ष जान्छ । त्यसैले यस्ता सन्देश जनता समक्ष जान दिनुहुँदैन । सरकार, जनता र सञ्चारमाध्यम सबैले छुट्याउन सक्नुपर्छ कहाँ गल्ती भएको भनेर । काम गर्दै जाँदा राम्रो नियत हुँदा पनि गल्ती हुन सक्छ । मानिसहरुबाट गल्ती हुन्छ । गल्ती गर्नु र जानिजानि अपराध गर्नु फरक कुुुरा हो । त्यसमा हामीले छुट्याउन सक्नुपर्छ ।

प्रदेश २ बाहेक ६ वटै प्रदेशको नेतृत्व अहिले नेकपाले गरिरहेको छ । तर, प्रदेश सरकारको क्रियाकलापका सन्दर्भमा प्रश्नको सवाल केवल प्रदेश २ माथि मात्रै उठाउने गरिन्छ । प्रदेश २ बाहेक अरु स्थानमा नेकपाको मनसायमा संघीयता नै छैन जस्तो भान त भइरहेको छैन, चुरो कुरा के हो ?
– संघीयता कस्तो हुनेबारे अझै छलफल गर्न बाँकी छ । यसबारे प्रश्नहरु उठिरहेको छ । सातै प्रदेशका जिम्मेवार मुख्यमन्त्रीहरु के भनिरहनुभएको छ भने–हामीले जति अधिकार पाउनुपर्ने हो त्यो पाउन सकेका छैनौ । यहाँ प्रदेश २ को मात्रै कुरा होइन । त्यसबारे पार्टीमा छलफल भएको छैन । संघीयता नेपालको लागि नयाँ विषय हो । त्यसलाई कसरी समृद्ध गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुन सकेको छैन । छलफल हुनुपर्ने हो, तर तीन वर्ष भइसक्यो हामीबीच छलफल नै भएको छैन । त्यसैले सामूहिक सोच बनाएर जानुपर्छ । एउटा व्यक्तिबाट हुँदैन । म मात्रै गर्छु भनेर हुन्छ । म मन्त्री थिए, मैले सचिवलाई राखेर सल्लाह गर्थे । नियम, कानुन सबै मिलाउनुपर्छ । त्यसैले समाजवादको बाटो सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारीमा जानुपर्छ । सबैले मिलेर निर्णय गर्ने र जस–जसलाई जुन–जुन जिम्मेवारी दिइएको छ त्यो अनुसार अगाडि बढ्नुपर्छ ।

संविधान जारी भएको ५ वर्ष सरकारले ख्याल र ठ्टामा बितायो, तर मधेशको सवालमा अहिले पनि नेकपा नेतृत्वको सरकार संविधान संशोधन गर्न तयार भइरहेको छैन । यसरी सरकारले संविधानलाई रिजिड बनाएर बस्न मिल्छ ?
– प्रधानमन्त्रीजीले संविधान दिवसको उपलक्ष्यमा संविधान संशोधन हुन्छ, आवश्यकता अनुसार संशोधन गर्छु भनेर दोहोर्याउनुभएको छ । अर्को कुरा हामीले पाएको अधिकारलाई पनि ठीक ढंगले प्रयोग गर्नुपर्यो । अपुग अधिकारको लागि पनि संघर्ष गर्नुपर्यो । यहाँ दुई वटै समस्या छ । पाएको अधिकार पनि दुरुपयोग भइरहेको छ र नपाएकोमा त्यो समस्या छदैछ । प्रदेश २ को मात्रै सवाल होइन सबै तिरको सवाल हो ।

तर, मधेश केन्द्रित दलले संविधान जारी भएदेखिनै असन्तुष्टि जनाउँदै आएका छन् । प्रधानमन्त्रीजीले संविधान संशोधन हुन्छ भन्दै आइरहनुभएको छ । तर, संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि संविधान संशोधन भएको छैन । यो त काग कराउँदै जान्छ पिना सुक्दै जान्छ जस्तो अवस्था देखियो नि ?
– संविधान संशोधन माग गर्नेहरु कति इमान्दार छन्, देश र जनताप्रति र दिनेहरु पनि कति इमान्दार छन् त्यसबारे पनि बुझ्न जरुरी छ । सरकार संविधान संशोधन गर्न तयार छ भन्छ । मधेश केन्द्रित दल संशोधन हुनुपर्छ भन्नुहुन्छ । यसबारे अलि प्रस्ट बहस हुनुपर्छ । यस विषयमा कुनै पक्षबाट बहस भएको छैन ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्