बायर्न म्युनिखको फराकिलो जित, शीर्ष स्थानमा उक्लियो



एजेन्सी :  बुन्डेस लिगामा गएराति बायर्न म्युनिख पुनः शीर्ष स्थानमा उक्लिन सफल भएको छ। बायर्नले घरेलु टोली फोर्टुना डुसेलडर्फमाथि ४–१ को सहज जित निकालेको हो। 

बायर्नले २९ खेलबाट ६७ अंक जोड्यो। दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई १ अंकले पछि पारेको छ। बायर्नको फराकिलो जितमा किङ्सले कोमानले दुई तथा सर्जी जिनाब्री र लियोन गोरेट्जकाले समान १ गोल गरे।

घरेलु टोलीका डुडी लुकिबाकियोले एक गोल फर्काए। बायर्नले सुरुवातदेखि नै आक्रामक फुटबल खेल्दा खेलको १५औं मिनेटमा कोमानको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न पहिलो हाफमा २–० ले अघि बढेको थियो।  

५५औं मिनेटमा सर्जी जिनाब्रीले अर्को गोल गर्दा बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो। ८९ औं मिनेटमा फोर्टुनाका डुडीले पेनाल्टीमार्फत गोल फर्काउदै गोल अन्तर कम गरे पनि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लियोनले गोल गर्दै बायर्नलाई ४–१ को फराकिलो जित दिलाए।

यससँगै बुन्डेस लिगाकाे उपाधि होड झनै रोमाञ्चक बनेको छ।

प्रतिक्रिया दिनुहोस्