डन्डिफोर आएर हैरान हुनुहुन्छ ? यसो गरे निको हुन्छ



एजेन्सी : छालाको सेवासियस भनिने तेल ग्रन्थीमा ब्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डन्डिफोर निस्केको भन्छौं । तेल ग्रन्थीले अनावश्यक रूपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डन्डिफोर खासगरी अनुहार घाँटी, काँध तथा ढाडमा हुनेगर्छ ।

डन्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिँदैन । यद्यपि यसको आगमनले मानिसको आकर्षणमा चिसोपना पैदा गर्छ । अनुहारमा देखिने डन्डिफोरले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय युवायुवती आफ्नो अनुहारमा निस्केको डन्डिफोरप्रति निकै नै चिन्तित हुने गर्छन् ।  डन्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरू पाइन्छन् । तर यहाँ दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरूको प्रयोगबाट डन्डिफोर हटाउने घरेलु उपायबारे जानकारी दिने प्रयास गरिएको छ ।

बरफ

बरफलाई कपडाले छोपेर डन्डिफोर भएको ठाँउमा केही सेकेन्ड राख्नुस् अनि झिक्नुस् । फेरि राख्नुस् अनि फेरि झिक्नुस् । यो प्रक्रिया केही समय दोहोर्याइरहनुस् । यसो गर्दा डन्डिफोरमा देखिने रातोपना, फुलाइ तथा दुखाइ कम हुन्छ । त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्दत समेत गर्छ ।

कागती

कागतीको प्रयोगले डन्डिफोरलाई सुकाउन मद्दत गर्छ । तर यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन । किनकि बासी रसमा अरू पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ । त्यसकारण तपाईं ताजा कागती लिनुस् । राति सुत्नुअघि सफा कपडाले कागतीको रसमा डुबाएर डन्डिफोर भएको छालामा लगाउनुस् र अर्को दिन बिहान सफा पानीले छाला सफा गर्नुस् । यसले तपाईंको अनुहारमा देखिएका डन्डिफोरहरू छिटो निको हुन मद्दत गर्छ ।

टूथपेस्ट

टूथपेस्टलाई पनि डन्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ । माथिकै बरफको उपायपछि यो उपाय प्रयोग गर्नुभयो भने अझ प्रभावकारी हुन्छ । टूथपेस्टलाई राति सुत्ने बेलामा डन्डिफोरमा लगाउनुस् र बिहान सफा पानीले मुख धुनुस् । तपाईंको डन्डिफोर सुन्निने अवस्थामा कमी हुने छ । यसलाई दिउँसो पनि प्रयोग गर्न सकिन्छ । तर याद गर्नुस् टूथपेस्ट कम्तीमा आधा घण्टा तपाईंको डन्डिफोरमा रहनै पर्छ ।

पानीको बाफ

बाफ छालाको उपचारका लागि एकदम प्रभावकारी मानिन्छ । यसले छालाको प्वालहरू खोल्छ र यसमा जम्मा भएको तेल, फोहर किटाणुहरू हटाउँछ । ठूलो भाँडामा तातो पानी राख्नुस् र १०-१५ मिनेटसम्म बाफ तपाईंको डन्डिफोर संक्रमित छालामा पर्न दिनुस् । त्यसपछि तातो पानीले सफा गरी छाला सुक्न दिनुस् अनि तेलरहित मोस्चराइजर प्रयोग गर्नुस् ।

लसुन

लसुनमा पाइने सल्फरले डन्डिफोरलाई चाँडो निको पार्न मद्दत गर्छ । लसुनको पोटीलाई दुई टुक्रा गरी त्यसलाई डन्डिफोरमा लगाउनुस् । करिब ५ मिनेटपछि सफा मनतातो पानीले छाला सफा राख्नुस् । यो प्रक्रिया हरेक दिन ३-४ पटक दोहोर्याउनुस्, चाँडो ठिक हुन्छ ।

लसुन हरेक दिन एक पोटी खाने गर्नाले तपाईंको रगत सफा गर्न मद्दत गर्छ ।

मह

महमा हुने प्राकृतिक एन्टिव्याक्टेरियल विशेषताले छालाको संक्रमण हुन नदिनुको साथै संक्रमण निको गर्न मद्दत गर्छ ।

सफा कपडालाई महमा डुबाएर संक्रमित छालालाई छोपेर राख्नुस् र करिब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस् । यो प्रक्रिया हरेक दिन २/३ पटक गर्नुस् । त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डन्डिफोर चाँडो निको हुन्छ ।

काँक्रो

काँक्रोमा पाइने भिटामिन ए, सी र ई तथा यसको चिसो बनाउने विशेषताले छालाका लागि एकदमै फाइदाजनक छ । काँक्रोको सानो सानो टुक्रा बनाई त्यसलाई सफा पानीमा भिजाउनुस् । यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र क्लोरोफिल पानीमा जान्छ । यो पानी पिउनुस् अथवा छालामा लगाउनुस् । अथवा काँक्रोलाई पिँधेर पेस्ट बनाई त्यसलाई छालामा लगाउनुस् । करिब १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्नुस् । यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउँछ ।

मेवा

मेवामा हुने भिटामिन ए, इन्जाइम तथा यसको जलन कम गर्ने र छाला मुलायम बनाउने विशेषताले गर्दा यसलाई छालारोग उपचारका लागि प्रयोग गर्न सकिन्छ । मेवा पिँधेर त्यसको जुस डन्डिफोरमा लगाएर १५-२० मिनेट छाडिदिनुस् र त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस् अथवा मह र मेवा मिसाई लेप बनाउनुस् त्यसलाई छालामा लगाउनुस् र सुक्न दिनुस् । सुकेपछि मनतातो पानीले सफा गर्नुस् । तपाईंको छालामा निस्केका बिमिरा तथा डन्डिफोर हराएर जान्छ । 

प्रतिक्रिया दिनुहोस्