हराउँदै छ मिथिलाञ्चलको लोकपर्व जुडशीतल



जनकपुरधाम : नयाँ वर्षको सुरुवातसँगै वैशाख २ गते सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता दिन मनाइने मिथिलाञ्चलको लोकपर्व जुडशीतल हराउँदै गएको छ।

वर्षको पहिलो दिन वैशाख १ गतेलाई मिथिलाञ्चल क्षेत्रमा सतुवाइन भन्ने गरिन्छ। दोस्रो दिन अर्थात् वैशाख २ गतेलाई जुडशीतल भन्ने गरिन्छ। मानवसहित प्राणी र वनस्पतिलाई चर्कंदो गर्मीबाट त्राण दिन, शीतलता दिने भएकाले यसलाई प्रकृति पूजाको पर्वसमेत मानिन्छ।

नेपालको सबैभन्दा जेठो पर्व जुडशीतल मिथिलाञ्चलवासीले हिलो दलेर मनाउने गरेका छन्। तर यो पर्वमा युवा पुस्ता जोडिन नसक्दा लोप हुँदै गएको छ। ग्रामीण तथा सहरी क्षेत्रमा युवा समूह भेला भई एकाबिहानै हिलोपानी आपसमा जिउभरि दलेर नाचगान गर्दै मनाइने जुडशीतलको दृश्य देखिनु हिजोआज दुर्लभ भएको छ। 

केही वर्षयता मिथिलाञ्चलका कुनै पनि क्षेत्रमा हिलोपानी दलेर जुडशीतल मनाएको देखिँदैन। तैपनि केही संघसंस्था त्यसलाई जीवन्त राख्न संस्थागत रूपमा सीमित व्यक्तिको उपस्थितिमै भए पनि बर्सेनि औपचारिकता दिँदै आएका छन्।

शीतलताको प्रतीक जुडशीतल

नयाँ वर्षको सुरुवात भएको भोलिपल्ट मनाइने जुडशीतलमा एकाबिहानै बुवाआमा, गुरु, मान्यजन एवं जेठा व्यक्तिले सानालाई वर्षभरि सुख, समृद्धि, शान्ति, दिर्घायू एवं उत्तरोत्तर प्रगतिको कामनासहित शिरमा पानी छर्किंदै आशीर्वाद दिने चलन रहेको छ।

देशभरि वैशाख १ गतेबाट नयाँ वर्षको शुरू हुन्छ तर वैशाखको चर्को घामबाट तातेको वातावरण र शरीरमा शीतलताका लागि टाउकोमा पानी छर्कने जुडशीतल पर्वदेखि मिथिलाञ्चल क्षेत्रमा नयाँ वर्षको स्वागत गर्ने परम्परा रहँदै आएको छ। यसैदिन आँपसहित विभिन्न वनस्पतिलाई समेत शीतलता प्रदान गर्न जरामा पानी हाल्ने गरिन्छ।

जुडशीतलको एक दिनअघि पकाएको बासी भात र सोइजनको तरकारीसहितका परिकार घरको चौकस, मुख्यद्वारसहित चुल्होमा देवतालाई चढाउने र सो दिन बिहान चुल्होलाई विश्राम दिने परम्परा पनि छ । अहिले भने यो परम्परा ग्रामीण भेगमा मात्र सीमित भएको छ।

प्रकृति पूजाको पर्व

संस्कृतिविद् भोगेन्द्र झाले बढ्दो आधुनिकताले युवा पुस्तामा संस्कृतिप्रति आर्कषण घट्दै गएकाले जुडशीतल मनाउन छाडिएको बताउँछन्। उनले भने, ‘युवा पुस्ताले हिलोपानी फोहोर भएको र शरीरमा दले विभिन्न रोग लाग्न सक्ने भन्दै युवा पुस्तामा यस पर्वप्रति आर्कषण घटेको छ।’

ठूलाबडाले परिवारका सदस्यको जीवनयुद्ध शीतलतामा परिणत होस् अर्थात् शान्तिपूर्वक बितोस् भन्ने कामनासहित मिथिलाञ्चल क्षेत्रमा मनाइने लोकसंस्कृतिसँग जोडिएको जुडशीतललाई प्रकृति पूजाको पर्व मानिएको मैथिली साहित्यकार श्यामसुन्दर शशी बताउँछन्।

उनले भने, 'मानवलाई मात्र होइन प्रकृतिसँग जोडिएका खेतबारीमा लगाइएका बोटबिरुवामा पानी हाल्ने र चर्को घाममा हिलोपानीबाट शीतलताका लागि एकअर्कालाई दलिने भएकाले पनि यसलाई  प्रकृति पूजाको पर्व मानिएको हो।'

पूर्वसभासद डा.विजयकुमार सिंहले चर्को घामबाट शीतलता प्रदान गर्न बासी पानी टाउकोमा छर्ने र शरीरका अधिकांश बिमारीको उपचार प्रकृतिको माटो र विभिन्न बोटबिरुवा नै भएकाले परापूर्वकालदेखि मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै आएको हो। तर यसपर्वको महत्व र लोकसंस्कृतिबारे युवा पुस्तामा जानकारी अभावले लोप हुँदै गएको छ।

जुडशीतलको दिनदेखि तुलसी चौरा वा शिवलिंगको छेउमा बाँस गाडेर त्यसमाथि गाग्रोमा पानी राखी राखिन्छ र त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ। कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्छ।

जुडशीतलका दिन सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिँचित गरेर सफा गर्न चुना, पोटास राख्ने गरिन्छ। यो पनि हिजोआज ग्रामीण भेगमा सीमित हुँदै गएको छ।

जुडशीतलका दिन सिरहाको महिसोथामा, भगवान सहलेस, सप्तरीको छिन्नमस्तालगायत शक्तिपीठमा मेला लाग्ने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्