‘अनुसन्धान विभाग बलियो बने मुलुक बलियो’



काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्न सके मात्रै मुलुक बलियो हुने बताएका छन् । विभागमा शुक्रबार आयोजित १८ औँ अनुसन्धान अधिकृत आधारभूत तालीम एवं दीक्षान्त कार्यक्रममा उनले जासूसी संयन्त्र बलियो रहेका मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको बताए । उनले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै सबै निकायबीचको समन्वयमा मात्रै अपराध नियन्त्रण गर्न सकिने उल्लेख गरे । 

 

विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्याङ्क सङ्कलन गर्न आवश्यक रहेकामा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाका आधारमा योजना बनाउँदा असफल हुने टिप्पणी गरे । विभिन्न नाममा देशमा अस्थिरता निम्त्याउन खोज्ने तत्वमाथि निगरानी बढाउन उहाँले विभाग मातहतका कर्मचारीलाई निर्देशन दिए। 

 

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भए पनि सोअनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए । सो विभागका प्रमुख दिपीप रेग्मीले राज्यको आवश्यकता र सोचअनुसार आफूहरु काम गर्न तयार रहेको स्पष्ट पारे । तीन महीनासम्म चलेको सो तालीममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराईसहित २२ प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्