‘संविधानप्रति हाम्रो पनि चित्त बुझेको छैन’



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ इञ्चार्ज सत्यनारायण मण्डल प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ । प्रदेश २ को प्रदेशसभामा प्रतिपक्षी दल नेकपाका नेतासमेत रहनुभएका मण्डलसँग द नेपालटपकी संवाददाता आशा साहले प्रदेश २, तराई मधेशको अवस्था तथा विभिन्न राजनीतिक समसामयिक परिस्थितिका बारेमा केन्द्रित रही कुराकानी गर्नुभएको छ । प्रस्तुत छ नेता मण्डलसँग गरिएको कुराकानीको सारसंक्षेप :

तपाईले प्रदेश २ का लागि नेकपाको तर्फबाट प्रतिपक्षी दलका प्रमुख नेताको जिम्मेवारी सम्हालिरहनुभएको छ । के जिम्मेवारी हुन्छ एउटा प्रतिपक्षी दलको नेताका हिसाबले ?
–सरकारले राम्रो काम गरेमा सहयोग गर्ने, समर्थन गर्ने, गलत कुराहरुको विरोध गर्ने काम प्रतिपक्षी दलको हो । गलतको विरोध गर्दा पनि सच्चिएनन् भने जनता समक्ष लैजाने यहि नै हो प्रतिपक्षी नेताको जिम्मेवारी ।

प्रदेश २ बाहेक ६ वटै प्रदेशमा नेकपा नेतृत्वको सरकार छ, तर प्रदेश २ मा नेकपाको खासै प्रभाव भने छैन । सरकारको प्रतिपक्षी राजनीतिमा पनि नेकपा एकदम कमजोर देखियो, किन यस्तो ?
– कसरी कमजोर देखियो । यहाँ आफ्नो–आफ्नो किसिमले मूल्यांकन र समीक्षा गरिएको हो । यहाँ नेकपाको मात्रै होइन, यहाँ के बुझ्न जरुरी छ भने–प्रदेश २ देशकै सबभन्दा सम्वेदनशील प्रदेश हो । हामीले स्थानीय चुनाव र सङ्घीय चुनाव लड्दा नेकपा एमालेलाई प्रदेशमा कही उपस्थित हुन नदिने, उभिनै नदिने नेपाली काँग्रेसका कार्यकर्ताहरुको योजना थियो । मधेशका दुई वटा दल थियो । एउटा फोरम र अर्को राजपा । यी दुई दलले पनि गाउँ टोलमा चाँहिदो नचाँहिदो काम गरे । मुर्दाको लाश बोकेर टोल–टोलमा, घर–घरमा हिँडेको भिडियो बनाएर जनतालाई भ्रमित पार्ने काम भयो ।

प्रदेशमा जसको सरकार छ उसले के उल्लेख्य काम गर्यो । म त प्रतिपक्षी भए, मैले प्रतिपक्षको राम्रो भूमिका निर्वाह गर्न सकिन होला । तर जसले जनताको जनादेश प्राप्त गरेको छ, हिजो उनीहरु पनि सरकारमा थियो । अहिले एकीकृत भएपछि उनीहरुको बहुमत पुग्छ । तर, उनीहरुले कुन चाहि उल्लेखनीय काम गरेको छ ? भ्रष्टाचार बाहेक केही गर्न बाँकी छ ? मिडियामा आएर गफ दिएर मात्रै हुँदैन । एकले अर्कालाई गाली गरेर हुँदैन । सही तर्क गर्नुपर्छ, प्रमाण दिनुपर्छ ।

प्रदेश २ मा मात्रै हैन संघीय राजधानीसहित सातै प्रदेशमा भ्रष्टाचारको कुरा आइरहेको छ नि ?
– सात वटै प्रदेशमा मात्रै होइन नेपाली समाजमै भ्रष्टाचार छ । तपाई पनि भ्रष्ट हो म पनि भ्रष्ट हो । जसले भ्रष्टाचार गर्दैन त्यसलाई यो समाजले गरिखाने होइन भन्छ । अनि मिडियाहरुले त्यसलाई धेरै हाइलाइट गरेर उफ्रेर के गर्छ । वास्तविकता के हो त्यहाँ पुग्नुपर्यो । हाम्रो समाजले नै भ्रष्टाचारलाई सामाजिक मान्यता दिएको छ ।

भ्रष्टाचारलाई समाजले कुन हिसाबले मान्यता दिएको छ, प्रष्ट पार्दिनुस् न ?
– कसरी दिएको छैन । अहिलेसम्म जसले राम्रो काम गरेको छ तिनीहरुलाई पछाडि धकेलेको छ । नेपालको निजामति क्षेत्र कै कुरा गरौ, के यिनीहरुमा परिवर्तन आएको छ ? १०–२० जना मन्त्रीमात्र राम्रो भएर समाज बदलिन्छ ? घमण्ड गर्छन यहाँका नोकरहरु, कि स्थायी सरकार हुँ भनेर । म कहाँ भन्छु अरु प्रदेशमा भ्रष्टाचार हुँदैन भनेर तर, सात वटै प्रदेशको तुलनामा प्रदेश २ मा बढी भ्रष्टाचार छ । हाम्रो समाजमा भ्रष्टाचारै छैन भनेर मैले भन्न खोजेको होइन ।

दुई मधेशी दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर संयुक्त रुपमा प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको छ । अब त गठबन्धन सरकार एउटै पार्टी भएर आयो । एक नभएको नेकपा प्रदेश २ मा पनि गणितीय हिसाबमा सरकार चलाउन चाहन्थे, यहाँ सरकार बनाउने तरखरमा थियो, तर जसपाको निमार्णसँगै सरकार बनाउने सपना अधुरो नै रह्यो, किन अझै पनि सम्भव छ ?
– कसले भन्यो अधुरै छ भने । यहाँको इतिहास हेर्नुस् । यहाँको समाजसँग बुझ्नुस्, यहाँको संसद सचिवालयमा गएर बुझ्नुस् हाम्रो प्रतिपक्षको के भूमिका छ भनेर । अहिलेसम्म जति कानुन बनेको छ जति वटा बजेट विनियोजन भएको छ, अहिलेसम्म हामीले सरकार बनाउनका लागि प्रयोग गरेका छैनौ । तर, प्रतिपक्षको एकल बहुमत नभएको अवस्थामा हामी पनि एकीकृत हुँदा सबैभन्दा ठूलो पार्टी हौ । हामीले मधेशका जनतामा गलत सन्देश नजाओस्–नेपालको पुरानो रोग हो सत्ता र कुर्सिको लागि त्यो यहाँ पनि प्रतिपक्षले गर्दैछन् भने ।

नेकपालाई मधेशमा मधेश विरोधी, संघीयता, समावेशीताविरोधी पार्टीको रुपमा चित्रण गरिएको छ । यसको जवाफ कसरी दिनुहुन्छ ?
– नेकपालाई मधेश विरोधी भन्ने तत्वहरुले मधेशका ठूलाबडा सामन्तहरु जसले हिजो पनि मधेशमा शोषण र उत्पीडित जनतालाई भेडिको गोठ बनाएका थिए । आज मधेशमा नेकपाले मधेश विरोधी गतिविधि गरेको छ ? हिजो मधेशका सामन्तहरुले पञ्चायती व्यवस्थामा मधेशी जनतालाई कुटेर पिटेर फुटबल खेलेर गोली हान्थ्यो । अहिलेका सञ्चारजगतले यो कुरा खोज्दैनन् । अर्को भारतको बुइँ चढेर नेपाल विखण्डन गर्न लागेका छन् । यदि कम्युनिष्ट पार्टीलाई मधेश विरोधी भन्छन् भने म उनीहरुलाई नेपाल विरोधी भन्छु ।

तपाई कसरी नेपाल विरोधी भन्नुहुन्छ, के छ नेपाल विरोधी हुनुको प्रमाण ?
– कुन आधारमा हामी मधेश विरोधी भयौ ? भारतको बुइँ चडेर, भारतको दानापानी खाएर नेपालमा नेपाली जनतालाई सास फेर्न पनि बन्द गराए, मानवअधिकारको उल्लंघन गर्यो । त्यस्तै हाम्रा दिदीबहिनीहरुलाई गौर हत्या काण्डमा के गरे, देख्नुभएनन्, कसरी नरसंहार गर्यो । गौर हत्या काण्डमा सुरक्षाकर्मीहरु घाइते भए र उनीहरुलाई एम्बुलेन्समा राखेर उपचारको लागि लैजाँदै गर्दा उनीहरुलाई एम्बुलेन्सबाट झारेर धान खेतमा लगेर हत्या गर्छन् अनी उनीहरु नेपाल विरोध नभएर के विरोधी हो ?

त्यतिबेला एउटा पार्टी थियो, गजेन्द्र नारायण सिंहको सद्भावना पार्टी । गजेन्द्र नारायण सिंहको निधन भइसकेको थियो । त्यो पनि ६–७ टुक्रामा विभाजन भयो । तर, लहानमा जुन घटना भयो, जहाँबाट मधेश आन्दोलन भयो । उक्त आन्दोलनमा कुन चाहि माइका लाल, मधेशका पार्टी र नेताहरुले यो असारे भ्यागुताहरु अहिले आफूलाई मधेशी भनेर गर्व गर्छन् । उनीहरुले उठाएका हुन् र ? त्यो त माओवादीले रमेश महतोको हत्या गरेपछि स्वतः रुपमा भएको हो । त्यसपछि जन्मेको पार्टी अनि हामीलाई कम्युनिष्ट पार्टीलाई मधेश विरोधी भन्ने । नैतिकता छ उनीहरुको । उनीहरुको पार्टी हिजो जन्मेको हो । कुन–कुन नेता काँग्रेसबाट आए, को कम्युनिष्टबाट गयो अनुहार त सबैको देखिएकै छ नि ।

तपाई मधेशी समुदायका व्यक्ति हुनुहुन्छ । प्रदेश २ मा नेकपाका लागि एउटा प्रखर नेता, संघीयता, गणतन्त्रका लागि संघर्ष गरेकोमध्ये एक कम्युनिष्ट विचारक पनि हुनुहुन्छ । मधेशको सवालमा संविधान संशोधन गर्नका लागि नेकपा किन एक कदम अगाडि नबढेको होला? के लाग्छ तपाईलाई ?
– उचित समयमा उचित निर्णय हुन्छ, संविधान संशोधन हुन्छ । त्यसमा काँग्रेसको पनि चित्त बुझेको छैन । हाम्रै पनि चित्त बुझेको छैन । मधेशवादीहरुले त्यतिबेला संविधान सभा भित्रै सत्याग्रह गरेको भए एउटा कुरा हुन्थ्यो । तर, उनीहरु त मधेश टुक्र्याउन भनेर भारतको दानापानी खाएर नाका सिल गराए छ महिना । सारा दानापानी रोकिदियो । त्यसकारणले धेरै दार्शनिक र ठूलाठूला भाषण गरेर केही पनि हुनेवाला छैन ।

मूल कुरा हो प्रत्यक्ष प्रधानमन्त्रीको हामीले त्यतिबेला प्रस्ताव गरेका थियौ । प्रत्यक्ष राष्ट्रपतिको कुरा पूर्व माओवादीले राखेको थियो । अहिलेको यो संसदीय प्रणाली जुन हो त्यो काँग्रेसको थियो । एउटा संविधान सभा असफल भइसकेको थियो । अर्को संविधान सभा बल्ल–बल्ल सफल भयो । पहिला संविधान जारी गरौ यदि संविधान जारी गर्न नसकेको भए मधेशीले जनताको तलब खायो, जनताले तिरेको करबाट भत्ता बुझ्यो तर संविधान बनाउने बेला मान्छे मार्दै हिँड्यो । मधेशका दाजुभाईलाई मार्दै हिँड्यो । यसको हिसाब किताब एक दिन मधेशको जनताले लिन्छ ।

अन्धविश्वासमा हाम्रो समाज छ । त्यसको फाइदा यिनीहरुले उठाएका छन् । कसको चरित्रमा मधेशी रगत छ । गफ गरेर हुन्छ । महन्थ ठाकुर कि उपेन्द्र यादवमा छ । उनी मधेशवादी थिएनन् पहिला एमालेकै उत्पादन हुन् । त्यहाँ को–को नेता छन् विजय गच्छदार आज पुनः काँग्रेसमा फर्किए । त्यतिबेलाका जयप्रकाश । मधेशी नेताहरु पटक पटक मन्त्री भए । कुन ठाउँमा एउटा राम्रो अस्पताल बनायो, कुन ठाउँमा एउटा राम्रो विश्वविद्यालय बनायो । आज मान्छे उपचार बिना मृत्युवरण गर्न बाध्य छन् । मधेशका ६७ जना मन्त्री बने, के त्यो मामुली कुरा हो । खाली नचाँहिदो कुरा गर्ने । नेपालको नागरिकले नागरिकता पाएको छैन, अनि भारतीय चेलीहरुलाई नागरिकता दिने, जथाभावी गर्ने? यसले मुलुक रहन्छ ?

प्रकाशित : कात्तिक २१, २०७७

प्रतिक्रिया दिनुहोस्