राजपा महाधिवेशन टर्दै  : कार्यव्यस्तता कि पार्टी फुट्ने डर ?



काठमाडौं : वैशाख पहिलो साता हुने भनिएको राष्ट्रिय जनता पार्टीको महाधिवेशन अन्योलमा परेको छ । ६ पार्टी मिलेर बनेको राजपा एकताको २ वर्ष बित्न लाग्दा पनि महाधिवेशन हुन सकेको छैन । पछिल्लो समय वैशाख ७ देखि ९ का लागि तय भएको महाधिवेशन तयारी नपुकाले पर धकेलिएको नेताहरूले बताएका छन् ।

२०७४ असार ३० मा निर्वाचन आयोगले ६ पार्टीको एकीकरणलाई वैधानिकता दिएको थियो  । त्यसका आधारमा आगामी असार मसान्तमा एकताको दुई वर्ष पुग्दैछ  । राजपाको विधानमा पनि दुई वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख छ । तर अबको तीन महिनाभित्र महाधिवेशन हुनेमा पार्टीका नेता कार्यकर्ता नै विश्वस्त छैनन् ।

उता विधानअनुसार महाधिवेशन नगरे उसको वैधानिकतामाथि नै प्रश्न उठ्ने देखिन्छ । तर नेताहरू भने महाधिवेशन गराउने भन्दा पनि नेतृत्वको बारेमा बढी चिन्तित देखिएका छन् । महाधिवेशनको नयाँ मिति तय गर्न भन्दै पटक पटक बैठक बसेपनि नेताहरू विषय केन्द्रित हुन नसकेको आरोप लागेको छ । 

६ जनाको नेतृत्व भएकाले भावी महाधिवेशनबाट कसले नेतृत्व हत्याउने भन्ने आन्तरिक चलखेल सुरु भएको छ । अहिलेसम्म आलोपालो नेतृत्व गरिरहेका अध्यक्षहरू समान नेतृत्वलाई स्वीकार गर्नेमा शङ्का छ । 

महाधिवेशनपछि महन्थ ठाकुर र राजेन्द्र महतोमध्ये कसको नेतृत्व हुने भन्नेमा आन्तरिक कानेखुसी सुरु भएको छ । ठाकुर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) तथा महतो तत्कालीन सद्भावना पार्टीका अध्यक्ष हुन्  । 

तमलोपा र सद्भावना दुवैको पुरानो राजनीति र सङ्गठनात्मक पृष्ठभूमिसमेत भएकाले नेतृत्वका लागि उनीहरूकै रस्साकसी छ । महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवका पनि राजपामा छुट्टाछुट्टै समूह छन्  । जसले ती समूहमध्ये धेरैलाई आफ्नो पक्षमा पार्न सक्छन् उसैले नेतृत्व लिने सम्भावना छ । 

महाधिवेशनका लागि सदस्यता लिने र नवीकरण गर्ने काम चैत १५ मा सकिएको छ । सदस्यताको अन्तिम टुङ्गो लागेपछि जिल्ला अधिवेशन गर्नुपर्ने भएपनि प्रक्रिया नै सुरु भएको छैन । माघ अन्तिमसम्ममा सदस्यता वितरण टुंग्याएर फागुन महिनामा प्रदेश तहसम्मको अधिवेशन सक्ने बताएको राजपाले चैत १५ सम्ममा बल्ल सदस्यता वितरण सकेको हो । 

राजपाले महाधिवेशन केन्द्रित भएर २७ जिल्लामा सदस्यता वितरण गरेको जनाएको छ । 

यता अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले भने आफूहरूमा कुनै असहमति नभएको बताए । सबै अध्यक्षले एकल नेतृत्वलाई स्वीकार गरेकाले महाधिवेशन गर्न कुनै समस्या नरहेको उनको भनाइ छ । 

राजपाभित्रको असहमतिले महाधिवेशन सर्‍यो भन्नु  गलत भएको उनले बताए । ‘पार्टी भित्र फरक बिचार हुनु स्भाविक हो । राजपा भित्र पनि वैचारिक बहस  छ तर नेताहरूले एकल नेतृत्वमा जाने कुरामा सहमति जनाइसक्नुभएको छ’ उनले भने, ‘नेपालका सबै राजनीतिक दलहरू फुटेका छन् , कोही फुटेर फेरी जुटेका पनि छन्, राजपा पनि त यही वातावरणमा छ ।’

मधेस केन्द्रित विभिन्न ६ वटा दल मिलेर राजपा गठन भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्