
काठमाडौं : वैदेशिक रोजगार व्यवस्थापन बोर्डले मंगलबारदेखि वैदेशिक रोजगारबाट विभिन्न सीप सिकेर फर्किएकाहरूको निःशुल्क सीप परीक्षण गर्ने भएको छ । सीप परीक्षणका लागि ४ सय ५६ जनाले आवेदन दिएका छन् ।
आवेदन दिएका कामदारको वैशाख ३ गते मंगलबार देखि ७ गतेसम्म निःशुल्क सीप परीक्षण गरिने वैदेशिक रोजगार व्यवस्थापन बोर्डका उप सचिव ऋषिराम भुसालले जानकारी दिए । वैदेशिक रोजगारीमा गएर विभिन्न सिप सिकेकालाई आन्तरिक रोजगारी र वैदेशिक रोजगारीमा सजिलो होस भन्नका लागि सीप परीक्षण सुरु गरेको उनले बताए ।
सीप परीक्षणमा प्रयोगात्मक र लिखित गरी दुई किसिमका परीक्षा दिनु पर्ने बोर्डले जनाएको छ । यो परीक्षामा उत्तिर्ण भएपछि प्रमाणपत्र दिइनेछ ।
२० वटा विषयमा परीक्षा सीपको परीक्षण गरिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । जसमा टेलरिङ, फर्निचर मेकर, असिस्टेन्ट ब्युटिसियन, स्ट्रक्चरल फेब्रिकेटर, सेक्युरिटी गार्डलगायत छन् ।
सीप परीक्षणमा बोर्डले सोचेजती आवेदन नपरेको जनाएको छ । ‘देशभरबाट १५ सय जतिले आवेदन दिने अनुमान हामीले गरेका थियौँ तर सोचे जस्तो भएन,’ बोर्डका उप सचिव भुसालले भने, ‘पहिलो पटक भएर सङ्ख्या कम भएको हुनसक्छ, हामी हरेक वर्ष यसलाई निरन्तरता दिन्छौँ ।’
परीक्षाको जिम्मा राष्ट्रिय सीप परीक्षण समितिलाई दिइएको छ ।
यसअघि बोर्डले सीप परीक्षण गर्ने कामदारलाई सहजीकरणका लागि सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो ।