विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ 



खोटाङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन्। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य एवं आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका खत्रीलाई हलेसी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। पक्राउ परेका खत्रीलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

उनलाई डिकुवाकै एक स्थानीयको मोटरबाईकमा लिफ्ट मागेर हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका थिए।

सार्वजनिक मुद्धामा तारिख खेपीरहेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका तुलबहादुर मगर र ऋषिराम बिकले चैत २७ गते प्रजिअ र सुरक्षा निकायका प्रमुखका अघि विज्ञाप्ती प्रकाशित गरी पार्टी परित्यागको घोषणा गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्