काठमाडौंका सार्वजनिक स्थलमा मंसिरदेखि खाना नखुवाइने



काठमाडौं : काठमाडौं महानगरका सार्वजनिक स्थलमा निःशुल्क खाना खुवाउने काम आगामी मंसिरदेखि बन्द गरिने भएको छ ।

शुक्रबार महानगरपालिका र निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका संघसंस्थाबीच कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर खुला ठाउँबाट खाना खुवाउन रोक्ने सहमति भएको छ । छलफलमा आगामी मंसिर १ गतेसम्म अहिले सञ्चालन भएजसरी खाना खुवाउने समहति भएको छ । तर, मंसिर २ गतेबाट खुला ठाउँमा खाना खुवाउने कार्य रोक्न अभियान सञ्चालक सहमत भएका छन् । त्यसपछि महानगरकै समन्वयमा व्यवस्थित रूपले खाना खुवाइने भएको छ ।

खुलामञ्चमा खाना खुवाउन कोरोनाको संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने भएकाले महानगर र भोजन सेवा गराउँदै आएका संघसंस्थाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका हुन् ।

‘खुलामञ्चलगायत सार्वजनिक खुला स्थानमा खाना खुवाउने कार्य बन्द गरी अन्य बन्द संरचनाभित्र खाना खुवाउने प्रबन्ध मिलाउने, यसका लागि खाना खुवाउँदै आउनुभएका संघसंस्था वा अभियन्ताहरूले ०७७ को भाइटीकाको दिनसम्म वैकल्पिक व्यवस्था गरी काठमाडौं महानगरपालिका तथा सम्बद्ध वडाको समन्वयमा आवश्यक व्यवस्था मिलाउने,’ सहमतिमा भनिएको छ–‘भोजन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउँदा सम्बद्ध संघसंस्थाले तथा अभियन्ताहरूले काठमाडौं महानगरपालिकाको समन्वयमा सल्लाह गरी क्षेत्रगत रूपमा स्थान खोजी गरी सेवा सुरु गर्ने, जसले गर्दा भिडभाड कम भई कोभिड–१९ को संक्रमण बढ्न नपाओस् ।’

सहमतिपत्रमा काठमाडौं महानगरसँगै हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिनसिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिब क्विन नेपाल, १०० ग्रुपलगायत संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्