‘म अहिले बिहे गर्दिन ल’



‘मंसिरमा बाजा बजाउने होला नि ? बिहे भोज कहिले खाने ? घुम्टो ओढ्न बुढी भैएन ?’ कोहि भेट्यो की यस्तै प्रश्न गर्छन् । यसबाहेक कुरा गर्ने प्रसंगै नभए जस्तो । २०/२२ वर्ष कट्नै नहुने । बिहेका कुरा गर्नै पर्ने मेरा साथी र मेरा आफन्तलाई । मानौं मैले बिहे नगरेर उनीहरुलाई ठूलै समस्या खडा भएको छ । मेरो बिहे भए उनीहरुका सबै बोझ समाप्त हुन्छ जस्तो । सबैका सवाल सुन्दा ओ हो ठूलै अपराध गरिएकी जस्तो हुन्छ । मानसिक तनाब थपिन्छ । बिवाह गर्ने कि नगर्ने वा कहिले गर्ने भन्ने व्यक्तिगत खुसी र चाहनाको विषय हो भनेर क–कसलाई सम्झाउने । आफन्त र साथीसंगीले सुझाव दिनु त ठिकै हो । तर, बारम्बार एउटै प्रश्न वा सुझाव मनोवैज्ञानिक त्रास बन्दो रहेछ ।

उमेरले भर्खर २४ वर्ष । घरमा सधै बिवाहको कुरा आउँछ । कति पटक इन्कार गर्नु । आफ्ना बाआमालाई त केही हदसम्म सम्झाउन सकिन्छ । तर, आफन्त र समाजलाई कसरी सम्झाउँनु । ‘अब तिमी बिहे कहिले गर्ने ? विवाह गर्ने उमेर भइसको छ । बुढी कन्या भएपछि कसले पत्याउँछ ? उमेर गएपछि पछुतो मान्नु पर्ला नी ?’ ‘तिमीले रोजेको छ भने भन नभए म खोजिदिन्छु ।’

‘मैले भनेको केटा राम्रो छ । असल छ। फेरी तिमीले त्यस्तो असल केटा कहिले पनि पाउदैँनौ । म कुरा चलाउ ?’ मान्छे अनुसारका सवाल । यस्ता कुरा सुन्दा रनन्न हुन्छ । विवाह गर्ने उमेर कति हो ? विवाह उमेर पुगेर गर्ने वा सक्षम भएर ? विवाहका लागि मन, विचार मिल्न कत्तिको आवश्यक छ ? दुःख सुखसँगै बिताउने वाचा गरेर कोही एक्कासी गायब भइदियो भने म के गर्नु ? आफैँलाई सम्हाल्न नसकेर साहारा खोजिरहेको बेला उसलाई र उसको परिवार सम्हाल्नु पर्दा के म सम्हालिन सक्छु ?’

मनमा यस्तै प्रश्न उठिरहन्छन् । कोभिड १९ का करण विश्व विद्यालय बन्द हुँदा घरमै बस्नु परेको छ । परिवार, आफन्त साथिभाईलाई झन बिहे गर्न दबाव दिने धेरै छन् । यो वर्ष चैत महिनादेखि घरमा छु । न केहि काम न कलेज । घरबाट टाढा हुँदा राहात मिल्छ । आफ्नो पढाई र कामको लागि काठमाडौंमा विगत ७ वर्षदेखि बस्दै आएको छु । लामो समय घरमा बस्दा वाक्कै भइयो । सपिनमा पनि बिहे कहिले गर्ने प्रश्नले झस्किरहन्छु । प्रश्न मात्र तेर्सिएको हैन लकडाउन भरीमा ५ जना जतिलाई त चिया नै खुवाएर पठाए । यस्ता कुरा गर्दा धेरैलाई लाग्नसक्छ, बिहे नगरी बस्न सकिन्छ ?

मैले पनि बिहे नै नगरी बस्ने सोच त बनाएको छैन । मेरो आफ्नो सर्त आफ्नो खुट्टामा अभिएर मात्रै विहे गर्ने । मेरो मात्र हैन अहिलेका युवा युवतिमा बिहेकोभन्दा आफनो करियरको बढि चिन्ता र चासो हुन्छ । जुन स्वभाविकै पनि हो । तर, पढाई अनि जागिरका कारणले बिहे गर्न ढिला हुने हो कि भन्ने चिन्ता बुबाआमामा देखिन्छ । अभिभावकमा चिन्ता देखिनु पनि स्वभाविकै होला । तर, म बिहे कहिले गर्ने ? जहाँ जसरी भएपनि एउटा परिपक्क र सोच विचारका साथ बिहे गर्नु पर्छ भन्ने मलाई लाग्छ । उमेर पुग्दै अथवा आफै सक्षम नभई बिहे गर्दा परिवार सफल हुँदैन र जीवन पनि सफल हुँदैन भन्ने लाग्छ ।

अर्को कुरा यदि सुझबुझपूर्ण रुपले गरेको बिहेले करियर नै बिग्रन्छ भन्ने होइन । धेरैको देखेका छौं विहे भएपछि करियर बिग्रिएको । तर, आफ्नो पेशामा स्थापित भएर बिहे गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । दुबै जना आफ्नो खुट्टामा उभिन सक्ने भएर बिहे गर्दा अझ करियरलाई अगाडि बढाउन सजिलो हुने बुझेकी छु । तर, मैले धेरैको देखेको छु । श्रीमानले श्रीमती कुटछ, बिहे गरेको २ वर्ष नपुग्दै श्रीमानले छाडेर हिड्छ । २ छोराछोरी भइसकेको श्रीमतिलाई छोडेर अर्कै केटी लिएर हिँड्को पनि देखेकी छु । दाइजो नल्याएको निहुँमा जिउँदै जलाएको पनि देखेकी छु । श्रीमानमै निर्भर भएकाले कसरी प्रतिकार गर्ने ? श्रीमानको घर छाडे कसरी बाँच्ने ? करियर बनाउनको लागि २८ वर्षमा बिहे गर्नुभएकी मेरी दिदीले वर्षदिन नपुग्दै चटक्कै करियरको माया मारेर गृहस्थी जिन्दगीका लागि समर्पित भएको । मेरो दिदी त एक उदाहरणको पात्र मात्र हुनुहुन्छ हामो समाजमा यस्ता कयौं दिदीबहिनी हुनुहुन्छ जो करियरको माया मारेर गृहस्थी जिन्दगीका लागि समर्पित छन् । यदी त्यसरी चटक्कै माया मार्ने भए किन करियर भनेर मरिहत्ते गर्नु ? यसै घरकै काम धन्दा गर्ने सरकारले बिहे गर्न तोकेको उमेर पुगेपछि बिहे गरे भइहाल्यो नि ! यतिका वर्ष लगाएर बटुलेको जागिरे जिन्दगीको उतारचढाव, सिकेको सीप र मास्टर डिग्रीको सर्टिफिकेटको गृहस्थी जिन्दगीमा के काम हैन र ? म देख्छु सरकारी जागिर भए मात्रै छोड् भन्न सक्दैनन् । नभए अरु जागिर जति भए नि पाइन्छ । पछि गर्दा हुन्छ । अहिले म कमाउँछु, घरमा आमाबुबा बिरामी हुनुहुन्छ । तिमीले हेर्नु । अब बच्चा पनि जन्माउनु पर्यो । फेरि गाउँ समाजकाले के भन्छन् ? प्लीज यत्ति मानिदेऊ । त्यसपछि म तिमीलाई जागिर गरौंला । यस्तो मीठो सपना देखाएर जागिरे जिन्दगीबाट अलग्याउँछ । यदि उनले भनेको मानिएन भने शुरुमा श्रीमान अलगिन्छन्, त्यसपछि घरपरिवार, माइती र अन्त्यमा समाजबाटै अलग्गिनु पर्ने अवस्था आउनसक्छ । त्यसपछि आफ्नाले मात्रै होइन्, पराइले र अझ भनुँ भेटेजति सबैले भन्छन्, ‘कस्ती काम नलाग्ने, नबुझने रैछे ।’ करियरको पछि लागेर के हुन्छ ? जागिर खाएर हुने के हो ? हामीले जागिर नखाएर पनि परिवार पालेकै छत । कमाएर ल्याइदिने मान्छे छदै थिए । खुट्टा हल्लाएर खादा भइहाल्थयो नि ।’

मेरो गाउँको एउटा दिदीले घरायसी कारणले पढाइ पूरा गर्न पाइनन्, । नर्स बन्ने इच्छा राखेकी दिदीले बिहे गरिन् । एक बचन पनि ती दिदीलाई कसैले सोधनन् । बिहे गर्छे कि गर्दिन ? उसको विचार के छ, कसैलाई सरोकार भएन । सबै आफन्तले वाह ! भन्ने गरी धूमधामसँग बिहे गरिदिए । तर, जति धूमधामसँग बिहे गर्दिए पनि दिदीको मन उज्यालो भएन । ‘यत्रो खर्च गरेर बिहे गर्दिन सक्ने मेरा बाले पढ्नलाई पैसा छैन किन भने होलान । पढाइको लागि पैसा नहुने मेरा बाले मेरो बिहेको लागि लाखभन्दा बढी पैसा कहाँबाट ल्याए ? मेरा बाले किन मलाई पढाउन चाहेनन ?’ दशैंमा भेट हुँदा उनले मन खोलिन्–‘अहिले मलाई कुनै कुराको कमी छैन, छोराछोरी ठूलाठूला भइसके, श्रीमान, घरपरिवार सबै राम्रो छ तै पनि मनमा आफूले पढ्न नपाएको कुरा खड्किन्छ । आफुले त पढाई पूरा गर्न सकिएन । तर, छोरीले चाहेको पढाउँछु । म आफू नखाएर भए पनि उसलाई पढाउँछु भन्ने सोचेको छु ।’

‘आज मेरा साथीहरू अफिस जाँदा म पनि जान्थें होला, मेरा साथीहरू सानसँग पढाइ÷जागिरका कुरा गर्दा म पनि गर्थें होला तर उनीहरू जतिको नभए पनि कम्तिमा आफूले चाहेको पढ्न पाएकोमा खुसी त हुन्थे तर मेरा यी सपना फगत सपना नै रहे ।’

यो त पहिलेको कुरा भयो यी दिदीजस्तै समस्या अहिलेको जमानामा पनि भोग्ने छोरीहरूको संख्यामा कमी छैन । हाम्रो समाज जतिसुकै सचेत, शिक्षित र जानकार भएपनि सितिमिति छोरीमा लगानी गर्न अभिभावक तम्सिँदैन । अर्काको घरजाने जातको जन्मजात ट्याग भिरेका छोरीलाई अहिलेको आधुनिक भनिएको समाज पनि त्यति सहज छैन । म यहाँ अर्को एउटा घटना सुनाउछु । एक जना साथीले आफ्नै लगानीमा एउटा भेटनरी पसल शुरू गर्ने जमर्को गरेकी थिइन् । बुवाआमाले सहमति दिएनन् ।

‘भर्खर पढाइ सकिएको थियो, पढेको कुरा प्राक्टिकल्ली गर्छु, म आफ्नै बिजनेस गर्छु, आफ्नै खुट्टामा उभिन्छु भन्दा पैसाको समस्या भयो । त्यसपछि परिवारका सदस्यलाई भने, तर उहाँहरुको सहमति भएन,’ उनले सुनाएकी थिइन् । ‘दाइले आफ्नो व्यवसाय गर्छु भन्दा तुरुन्त सहमति भयो उसले आफ्नो व्यवसाय चलाइरहेकी छन्, तर दाइजस्तै म पनि आफ्नै व्यवसाय गर्छु भन्दा घुमाइफिराइ पैसामा आएर कुरा अड्किन्छ । हुन त मेरो पढाइमा बाउआमाको लगानी धेरै छ, यत्रो लगानी पढाइमा गरेका बाआमाले त्यही छोरीलाई आत्मनिर्भर बन्छु, आफ्नै व्यवसाय चलाउँछु म पनि केही गर्छु भन्दा पनि झट्ट आँट नगर्ने किन होला ? अहिले पनि छोरीप्रति किन यस्तो सोच राखन्छ होला ? यो सम्झदा पो अचम्म लाग्छ ।’ मलाई बिहे भन्ने शब्दसँग डर मान्नुपर्ने अवस्था यस्तै यस्तै कारण रहेको छ । विवाह कहिले गर्ने, कोसँग गर्ने, कसरी गर्ने, किन गर्ने भन्ने तमाम प्रश्नको जवाफ आफ्नो मनले पाएपछि मात्र गर्नु उचित हुन्छ । लहैलहै, बहकाउ, ललाइफकाइ, नाफाघाटा, रूप र सम्पत्तिमा गाँसिएको बिवाहको माला त कतिबेला चुँडिने हो के ठेगान ? दशैं सकिएसँगै म आफ्नो डेरामा आए ।

गाउँ छाडेको केहि दिनमै घरबाट फोन आयो–राम्रो घरबाट कुरो आएको छ । फोटो हेरेसी केटोले मन परायो अनि केटाको घरकाले पनि । केटा इन्डियन आर्मी हो । घरको एक्लो छोरो । बुबा हुनुहुन्न अरे आमा मात्र । काठमाडौंमा जग्गा छरे । पछि उतै घर बनाएर बस्ने अरे । बिहे गर छोरी तलाई सुख हुन्छ । ममीले एकै स्वासमा सुनाउनुभयो ।’ म वाक्क आमालाई टार्दै पछि कुरा गरौंला भन्दै फोन काटिदिए । त्यस पछि बुवाको फोन गर्नुभयो । मेरो बुवा आवश्यकताभन्दा बढि बोल्नुहुन्न । परिवारमा अरु सबै जनाले बिहेको कुरा गरेर कचकच गरे पनि मेरो बुवाले अहिलेसम्म मसँग बिहेको कुरा गर्नु भएको छैन । त्यहि भएर मलाई मेरो बुवा कुरा गर्न सहज लाग्छ । त्यसपछि सिधै मैल भने ‘म साँच्चै बिहे गरुँ त बुवा’ उहाँले अन्कनाउदै भन्नुभयो ‘मलाई के भने की त । तैले गर्ने हो । तेरो दिदीको अवस्था थाहा नै छ । तेरो पढाई पनि त सकिएको छैन । म त भन्छु । शुरुमा आफ्नो पढाई सक । आफ्नो खुट्टामा उभिई । अनि मात्र बिहे गर ।’ एकक्षण बाबु छोरी चुपचाप । त्यसपछि भने–‘बुवा म अहिले बिहे गर्दिनँ ल ।’ बुवाले मेरो कुरा नमान्ने कुरै भएन । मम्मीलाई पनि सम्झाउँछु भन्दै फोन काट्नु भयो । त्यसपछि आनन्दको सास फेर्दै अछ्यानमा पल्टिए । बुवा मेरो कुरामा सहमत हुँदा संसार जिते जस्तो भान भयो । सोचिरहन्छु मेरो बुबापनि अरुका बुवा यस्तो भइदिएको भए धेरै छोरीले आफ्नो निर्णय आफै गर्ने थिए ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्