
काठमाडाैंः यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि सोमबारसम्म नेपालसहित ४६ मुलुकका ३ सय ६० आरोही त्यसतर्फ लागेका छन्। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार सोमबारसम्म ४६ मुलुकका आरोहीले सगरमाथा आरोहणको अनुमति पाएका छन् । यिनमा ७० महिला र २ सय ९० पुरुष रहेका खबर आजकोकान्तिपुर दैनिकले छापेको छ।
नेपालबाट ४ वटा आरोहण दलका १२ सदस्य छन्, जसमा ६ महिला छन् । हालसम्म सबैभन्दा धेरै भारतका ८३, अमेरिकाका ६७, चीनका ५९, बेलायतका ४०, क्यानडाका ५ आरोही सगरमाथातर्फ लागेका छन्।
विभागले यी आरोहीबाट ४२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन गरेको छ । वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर (करिब १२ लाख रुपैयाँ) आरोहण दस्तुर बुझाउनुपर्छ । नेपालीलाई ७५ हजार रुपैयाँ तोकिएको छ।
सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महँगो हिमालको सूचीमा पर्छ । विदेशीका लागि वसन्तकालीन सिजनमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउँद र बर्खायाममा २ हजार ७ सय ५० डलर मात्रै लिन्छ । व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्छ।
यस पटक सगरमाथाबाहेक अन्य १९ हिमालमा पनि आरोही गइरहेका छन् । यिनमा सोमबारसम्म ३ सय ३१ आरोहीले अनुमति लिएका छन् । १९ मध्ये सिन्धुपाल्चोक क्षेत्रमा पर्ने जुगल हिमशृंखलाअन्तर्गत रहेको ग्याल्जेन पिक आरोहणका लागि गएका ६ मध्ये ३ जनाले आरोहण सकिसकेका छन्।
विभागले सोमबारसम्म यी सबै हिमाल आरोहणका लागि ४६ करोड ५९ लाख सलामी दस्तुर संकलन गरिसकेको छ।