सुदूर पश्चिम प्रदेशमा अपांगता भएका व्यक्तिसँग सुझाव संकलन



कैलाली : आधुनिक तथा गुणस्तरीय शिक्षा पद्धतिमा सबैको पहुँच कसरी गर्न सकिन्छ भनेर नेपाल सरकारले गठन गरेको उच्च शिक्षा आयोगका प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका अपांगता भएका व्यक्तिसँग सुझाव लिएको छ ।

 

 शिक्षा आयोगको अन्तगतको समावेशी तथा समसामयीक समितिले बिहीबार राट्रिय अपांग महासंघ सुदूरपश्चिम प्रदेश कार्यालय पुगेर अपांगता भएका व्यक्तिको शिक्षामा पहुँच पुर्‍याउन कुन निकायले के गर्नुपर्ला भन्ने विषयमा सुझाव लिएको हो ।

 

समिति सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयकी पूर्व डीन भारती जोशीले अपांगता भएका व्यक्तिको शिक्षामा पहुँच के कस्तो छ ? के गर्दा अझै सहज होला ? भनेर सरोकारवालासँग नै सुझाव लिने क्रममा सुदूरपश्चिम पुगेको बताउँदै सबैको विचार तथा सुझाव जस्ताको त्यस्तै सरकार समक्ष पेश गर्ने बताईन् । 

 

उनले समाजका सबै वर्गको विकास विना देशको समृद्धि कठिन सम्झेर नेपाल सरकारले शिक्षा नीति सबैको पहुँचयुक्त बनाउन खोजेको प्रष्ट पार्दै देश र नागरीकलाई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिईन् ।

 

राष्ट्रिय अपांङ्ग महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष उपेन्द्रवहादुर खडायतले संविधान प्रदत्त हक अधिकारका विषयमा लिक्षित वर्गकासाथै शिक्षक, अभिभावक तथा सरोकारवालालाई चेतनामुलक कार्यक्रम दिएर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले भौतिक कठिनाई भएका क्षेत्रमा आवासिय विद्यालयको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा अपांगताको क्षेत्रमा काम गरिरहेका अभियन्ताकासाथै अपांङ्गता भएकाको साझा संस्था राष्ट्रिय अपांग महासंघ नेपाल सुदूरपश्चिमका पूर्व तथा बर्तमान कार्यसमितिका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्