नेकपा एकता: सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् ।

तर, अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् । अध्यक्ष ओली र दाहालबीच यस विषयमा पटक–पटक छलफल भएको छ ।

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीका शीर्ष नेतृत्व तहमा एकता टुंगो लगाउने विषयमा घनीभूत छलफल भइरहेको बताए । तर, छलफल निष्कर्षमा पुग्न नसकेको बताउँदै उनले सबैलाई समेटेर योग्यता, क्षमता एवं वरिष्ठताका आधारमा जिम्मेवारी बाँडफाँट हुनुपर्ने बताए ।

‘एकता टुंगो लगाउन ढिला भएकै हो । तर, अब छिटट्ट नै टुंगो लाग्दै छ,’ साहले भने, ‘पार्टीका शीर्ष नेतृत्व आन्तरिक गृहकार्यमा जुटिसक्नुभएको छ । सबैलाई समेटेर जिम्मेवारी दिने विषयमा छलफल चलिरहेको छ ।’

३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । घोषणा सभालाई सम्बोधन गर्दै ओली, दाहाल, नेपालसहितका शीर्ष नेताले तीन महिनाभित्र एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, ११ महिना पुग्दा समेत अहिलेसम्म एकताको टुंगो लाग्न सकेको छैन् । याे समाचार राजदानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्