विद्यार्थी धपाएर विद्यालयमा सशस्त्रको ब्यारेक



सर्लाही : विद्यालयमा सशस्त्र सुरक्षाकर्मी पस्नु नै कानुनी रूपमा गलत हो, तर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ५ सखुहवास्थित प्राथमिक विद्यालय भवनमा सशस्त्र प्रहरीले पोस्ट नै खडा गरेर बसेको छ । विद्यालयलाई काँडेतारले घेरिएको छ भने बालबालिका पढ्ने मैदानमा सशस्त्र फौजले परेड खेल्न थालेको छ । 

६ कात्तिकमा विद्यालय रहेको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो । गाउँपालिका कार्यालयले निर्णय नै गरेर दिएपछि स्कुलको भवनमा सुरक्षाकर्मी आएर बसेका हुन् । 

विद्यालयका सम्पूर्ण फाइल एउटा कोठामा थुपारिएको छ भने विद्यार्थीलाई विद्यालय परिसरमा समेत निषेध छ । आजभोलि प्रधानाध्यापक शेष सबिर अहमद बिहानै विद्यालय पुग्छन्, कोठामा थुपाएिको हाजिरी रजिस्टर निकाल्छन्, आफ्नो हाजिर गर्छन् र फर्कन्छन् । 

विद्यालयमा काँडेतार लगाएको देखेपछि आपूm आश्चर्यमा परेको प्रधानाध्यापक अहमदले बताए । ‘विद्यालयमा काँडेतार लगाएर सुरक्षाकर्मी बसेको यो दृश्य हाम्रा लागि विडम्बना हो, विद्यालय शान्ति क्षेत्र भनिएको छ, तर काँडेतारले घेरेर विद्यार्थीलाई बाहिर पठाइएको छ भने हतियारसहित सुरक्षाकर्मी बसेका छन्,’ उनले भने । 

प्रधानाध्यापक अहमदका अनुसार उक्त विद्यालय बन्द भए बालबालिका अब अर्को विद्यालय जानुपर्नेछ । जो टाढा जान सक्दैनन्, उनीहरूका लागि शिक्षा अब सपना मात्र हुनेछ । 

ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बालबालिकालाई धर्मशालामा राखेर पढाउने भन्दै विद्यालयमा सुरक्षाकर्मी राख्न सहमति दिएका हुन् । ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्नु ठीक हो । तर, सरकारले एउटा पोस्ट स्थापना गर्न सक्दैन ? बालबालिकाको कक्षाकोठा नै हत्याउनुुपर्छ ?’ स्थानीय अभिभावक विद्यानन्द यादवले प्रश्न गरे । 

स्थानीयको पहलमा स्थापना भएर सञ्चालन भएको विद्यालयबाट बालबालिकालाई धपाएर सशस्त्र प्रहरी राख्नु गलत भएको संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिराम यादवले बताए । ‘विद्यालयको भवन पुरानो भएको थियो, त्यसलाई सुधार गर्नुपर्ने हो । त्यसैका लागि जनताले विभिन्न तहका सरकार चुनेका हुन्, तर सरकारले नै स्कुलबाट विद्यार्थी धपाएको छ, यो हामीलाई स्वीकार्य छैन,’ उनले भने ।

०४५ सालमा स्थापना भएकोे उक्त विद्यालयमा नजिकैका सखुवा गाउँका एक सय २३ बालबालिका पढ्दै आएका छन् । विद्यालयमा अधिकांश विपन्न, मुसहर र दलित समुदायका बालबालिका अध्ययनरत विद्यार्थी अब विद्यालयविहीन भएको सहायक प्रधानाध्यापक पुकार राय यादवले बताए । 

सर्लाहीका अन्य विद्यालयमा अहिले धमाधम पढाइ भइरहेको छ, तर यो विद्यालयका विद्यार्थीको पढाइ अलपत्र परेको छ । विद्यालयमा हतियारसहित सुरक्षाकर्मी बसेपछि छोराछोरीलाई कहाँ पढाउने ? अभिभावक अन्योलमा छन् । ‘हामीलाई केही थाहा छैन, गाउँमै विद्यालय भएकाले बालबालिका पढाउन सजिलो थियो, अब कहाँ पठाउनु, कहाँ पढाउनु ?’ अर्का अभिभावक रामनरेश मल्लिकले भने । 

तर, गाउँपालिका अध्यक्ष साहले विद्यालय भवन अपायक, खोलाको किनारमा रहेको र जीर्ण भएकाले सशस्त्र प्रहरीलाई दिएको बताए । ‘हेर्नुस्, विद्यालय भवन अत्यन्त जीर्ण भइसकेको छ । विद्यालय भवन बनेको जग्गा भारतीय नागरिकको नाममा छ, त्यसैले सुरक्षाकर्मीलाई दिइएको हो,’ उनले भने । तर, स्थानीयको प्रश्न छ, ‘विद्यालयको जग्गा व्यक्तिको नाममा छ भने गाउँपालिकाले निर्णय गरेर सुरक्षाकर्मीलाई दिन कसरी मिल्छ ?’

त्यस्तै, विद्यालय भवन जीर्ण छ भने सुरक्षाकर्मी पनि कसरी बस्न मिल्छ ? सुरक्षाकर्मीलाई ज्यानको डर हुँदैन भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष साहले भने, ‘भवन केही पुरानो भए पनि तत्काललाई प्रयोग गर्न मिल्ने अवस्थामा छ, कुनै कोठामा पानी चुहिन्छ भन्ने सुनेको छु, तर पूरैै भत्कने अवस्थामा पुगेको छैन ।’

सशस्त्र प्रहरी १० नम्बर गणका प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले भवन जीर्ण रहेको भनाइ पूरै गलत भएको प्रतिक्रया दिए । ‘जहाँसम्म भवन जीर्ण छ भन्ने छ, त्यो गलत हो । हामी असुरक्षित ठाउँमा गएर बस्दै बस्दैनौँ, सुरक्षाकर्मीको सुरक्षामा हामी पनि चिन्तित छौंँ ।’

यो बिओपीमा इन्स्पेक्टरको नेतृत्वमा २५ सुरक्षाकर्मी तैनाथ छन् । सखुहवामा स्थापना भएको बिओपी गाउँपालिकाले निर्णय गरेर नै दिएकाले सुरक्षाकर्मी बसेको एसपी श्रेष्ठले बताए । ‘हामी सीधै गएर विद्यालयमा बसेका होइनौँ, गाउँपालिकाले विद्यालय अन्यत्र सार्ने भनेर हामीलाई लिखित रूपमा दिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयबाट निर्णय भएपछि बिओपी राखिएको हो ।’ 

उता गाउँपालिका अध्यक्ष साहले अब राम–जानकी मठको नाममा रहेको धर्मशालामा विद्यालय बनाउने तयारी भएको बताए । ‘मठमा रहेको धर्मशालामा विद्यालय सञ्चालनको तयारी गरिरहेका छौँ । मठको ११ कट्ठा जग्गा फेला पारेका छौँ । मोहीलाई पाँच कट्ठा दिएर बाँकी जग्गामा विद्यालय निर्माणको तयारी गरेका छौँ । भवनका लागि १७ लाख बजेटसमेत छुट्याइसकेको छु ।’ 

तर, विद्यालय भवन नयाँ बनाएर मात्र पुरानो भवन खाली गराउनुपर्नेमा पहिले नै किन खाली गरियो भन्ने प्रश्नमा उनले भने, ‘अहिले धर्मशालामै राखेर विद्यार्थी पढाउँछौँ, लगत्तै भवन पनि बनाउँछौँ, यसमा समस्या हुँदैन ।’ नयाँ पत्रिका दैनिकमा श्रवण थापाले लेखेका छन् ।

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्