भारतमा कोरोना संक्रमणको दर घट्दै



नयाँ दिल्ली : पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ । विगत केही महिनामा सबैभन्दा बढी संक्रमण हुने गरेको भारतमा केही हप्तादेखि संक्रमण दर घट्दै गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार बढी नयाँ संक्रमित थपिएका छन् । अघिल्लो महिनासम्म भारतमा झण्डै दैनिक १ लाखको हाराहारीमा संक्रमित थपिने गरेका थिए । भारतमा हालसम्म संक्रमित हुनेको संख्या ८५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या पनि १ लाख २६ हजारभन्दा बढी छ ।

यसैगरी संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकमा भने कोरोना संक्रमण व्यापक रुपमा बढेको छ । विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा एकै दिनमा १ लाख १९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड नाघिसकेको छ भने मृत्यु हुनेको संख्या २ लाख ४३ हजारभन्दा बढी छ ।

युरोपेली मुलुकमध्ये फ्रान्समा सबैभन्दा संक्रमित भेटिएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ८७ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । यो संख्या कोरोना महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । बेलायत, इटाली, पोल्याण्ड र जर्मनी लगायतका मुलुकमा पनि दैनिक संक्रमण उच्च रहेको छ ।

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्