फ्रान्सको पेरिसस्थित ८ सय ५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी



एजेन्सी: फ्रान्सको पेरिसस्थित ८ सय ५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । गएरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चका थप कला कृति क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका छन् ।

यद्यपि, नियन्त्रणको प्रयास सफल भएको छैन । फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध आगलागीसँग हुनसक्ने अनुमान गरिएका छन् । पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ ।

आगलागी लगत्तै चर्च पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इतिहासमा क्षति पुगेको भन्दै आगलागीप्रति दुःख व्यक्त गरेका छन् । उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्