मन्त्रिपरिषद् बैठक : तीन सचिव सरुवा, काे कता तानिए ?



सोमबारकाे मन्त्रिपरिषद् बैठकले तीन जना सचिवकाे सरूवा गरेकाे छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएकाेछ। सचिव घिमिरे गत माघ ९ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयकाे प्रशासनतर्फ सरुवा भएका थिए। स्वास्थ्य मन्त्रालयमा अब एक जना मात्र सचिव रहने छन्।

यसअघि घिमिरेसहित पुष्पा चाैधरी पनि स्वास्थ्य मन्त्रालयमा सचिवकाे जिम्मेवारीमा थिइन्। कार्य व्यवस्थापन गर्न २ सचिव खटाइएकाे भनिए पनि घिमिरेलाई करिब ३ महिनामै अर्काे मन्त्रालयमा सरुवा गरिएकाे छ।

एउटै मन्त्रालयमा दुई सचिव रहँदा जिम्मेवारीमा विवाद रहँदै आएकाेमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दुवैलाई फरक-फरक क्षेत्रकाे कार्य विभाजन गरिदिएका थिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पछिल्लाे एक महिनादेखि सचिवविहीन थियाे।

यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खटाइएकाे छ। मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै सचिव पद रिक्त रहेको थियो।

हालै सचिवमा बढुवा भई पदस्थापन हुन बाँकी डा हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएकाे छ।

प्रतिक्रिया दिनुहोस्