यू–१९ विश्वकप छनोट : नेपालले दियो ओमानलाई २ सय ३० रनको लक्ष्य



काठमाडौं : आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको सिंलगार टर्फ क्लवमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गर्न सकेन । १२ रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालका पवन सर्राफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो । आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भए । 

त्यसपछि नेपालको ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दिप जोरा मात्र चार रनमा आउट भए । यसअघिका खेलमा पनि उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । 

डेब्यु खेलमा अर्धसतक बनाएका हरी चौहान मात्र दुई रनमा आउट भए । छैटौ विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम शार्की विच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितीमा पुगेको हो । 

कप्तान रोहित ७५ रनमा आउट हुन पुगे । त्यसको लगत्तै भिम पनि ३९ रनमा बाहिरीए भने कुशल मल्लपनि मात्र दुई रनमा आउट भए । त्यसपछि कमलसिंह ऐरी एक रनमा आउट भए । 

अन्तिम विकेटका लागि प्रतिस जिसी र सूर्य तामाङले ५१ रनको उत्कृष्ट साझेदारी गरे । जिसीले २३ बलमा ४१ रन बनाए भने तामाङले नटआउट सात रन बनाए । 

प्रतिक्रिया दिनुहोस्