गर्मी लाग्यो, कस्ता पहिरन लगाउने ?



काठमाडौं : जाडो याम सकिएर गर्मी सुरु भएको छ। मौसम परिवर्तन भएसँगै पहिरन पनि फेर्नु आवश्यक हुनाले यामअनुसारका पहिरन लगाउनु पर्छ। गर्मी लागेसँगै बाक्ला र न्याना पोसाकको साटो पातला र शीतल हुने खालका कपडा लगाउनु उपयुक्त हुन्छ। सबैको चाहना आफ्नो पहिरन युनिक होस् जुन आकर्षक र स्टाइलिस पनि देखियोस् भन्ने हुन्छ। 

गर्मीमा पहिरन छान्दा विभिन्न कुरामा ध्यान दिन आवश्यक छ। गर्मी नहुने पातला कपडा हुनुपर्छ र त्यसको रंगमा पनि ध्यान दिनु पर्छ। गर्मीमा हलुका रंगको प्रयोग गर्नु उपयुक्त हुन्छ, यसबाट आँखालाई पनि शीतलता दिन्छ। सुती (कटन) मिसिएको सिल्क, सिफन, लिनेन, जर्जेट र खादि (खद्दर)बाट बनेका र घरेलु बुनाइका कपडाबाट बनेका पहिरन लगाउनु उपयुक्त हुन्छ। यस्ता पहिरनले पसिना सोस्छ। 

गर्मीबाट जोगिन अधिकांश युवा स्लिवलेस (बाहुला नभएका) कपडा लगाउन मन पराउँछन् तर यसो गर्दा घाममा छाला डढ्न सक्छ। त्यसैले दिउँसो घाममा बाहिर निस्कँदा यस्तो लुगा लगाउनुहोस् जुन कटनको र पूरा बाहुलाको होस्। राति र बिहान भने स्लिवलेस लगाउँदा फरक पर्दैन।

सुति, घरबुना र खादी (खद्दर) कपडा शरीरलाई गर्मीबाट बचाउने र पसिना सोस्ने खालका रेसादार कपडा हो। यी कपडाका पहिरन लगाउँदा धेरै गर्मी महसुस हुनुका साथै शरीर पनि ठन्डा रहन्छ। सिल्क, साटन, सिन्थेटिक, पोलिस्टर मिक्स, नाइलन, भेल्भेट कपडा लगाउँदा गर्मीमा संक्रमण हुन सक्छ।

धेरै कसिएका वा शरीरमा टाँसिने पहिरनको साटो हलुका र खुकुला कपडा लगाउनुहोस्। कसिएका पहिरन लगाउँदा धेरै पसिना आउने भएकाले कपडा बिग्रनुका साथै छालामा संक्रमण भएर घाउ पनि हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्