निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाई बुधबार, न्यायाधीशहरुको पर्सी



काठमाडौं : संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ । मंगलबारको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ ।

थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ । उजुरीकर्तासँगको छलफलपछि दिउँसो २ बजे थपलियासँग छलफल गर्ने समितिले निर्णय गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाइ भने बिहीबार गर्ने भएको छ ।

सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीशविरुद्व संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको छ ।

हाल उच्च अदालतका पाटनका मुख्य न्यायाधीश रहेका प्रकाश ढुङ्गानाविरुद्ध दुई वटा, हरि फुयाँलविरुद्ध एउटा उजुरी परेको र दुई वटा नेपालमा न्यायाधीश नियुक्ति प्रक्रियामाथि नै प्रशन उठाउँदै उजुरी परेको छ ।

गत चैत १८ गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा हरि फुयाँल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको थियो । पाँचै जनाविरुद्ध सुनुवाई समितिले गत चैत २१ गते उजुरी आह्वान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्