सञ्चारमन्त्रीले फेरि भने : बालुवाटारको जग्गा किन्‍नेलाई कारबाही होइन क्षतिपूर्ति



रुपन्देही : विमान उड्ने समयमा एयरपोर्टमा नपुग्दा बुद्ध एयर सञ्चारमन्त्रीलाई नलिइ काठमाडौँ उडेको छ । बुद्ध एयरको जहाज उड्ने निर्धारित तालिकामा एयरपोर्ट नपुगेपछि सञ्चारमन्त्री छुटेका हुन् । 

भैरहवा विमानस्थलमा समयमा नपुगेपछि बुद्धको जहाजले सोमबार उनलाई छाडेको हो । सोमबार प्युठानको गौमुखी गाउँपालिका एक कार्यक्रममा भाग लिएर उनी फर्केका थिए। 

तर उनी तोकिएको समयमा भैरहवा विमानस्थल पुगेनन् । जब उनी विमानस्थल पुगे, त्यो बेलासम्म बुद्धको जहाज नै उडिसकेको थियो । यता मन्त्री बास्कोटाले भने आफूलाई थाहै नदिइ जहाज उडेको भन्दै आक्रोश पोखेका छन् । 

जहाजले छाडेपछि मन्त्री बास्कोटा भैरहवाबाट बुटवल आएर बसे । मन्त्री बास्कोटाले मंगलवार बुटलमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै जहाजले छाडेकोमा आक्रोश पोखे । 

उनले पत्रकार सम्मेलनमा देश विकासको चुलीमा पुगेको भन्दै बाटो बनेको नदेख्ने तर धुलो उडेको मात्र देख्नेप्रति कटाक्ष गरे । मन्त्री बास्कोटले मन्त्रीलाई छाडेर जाने जहाजले अन्य यात्रुलाई दु:ख दिएको अनुमान गर्न सकिने जिकिर गरे । 

मन्त्री बास्कोटालाई छाडेर सोमबार साँझ बुद्ध एयरको जहाज काठमाडौँ उडेको थियो । उनले विमान कम्पनीमाथि लापरवाहीको आरोप पनि लगाए । बास्कोटाले उनले रेल ल्याउने सरकारको घोषणाबारे हल्का टिप्पणी नगर्न पनि सचेत गराए ।

बास्कोटाले नेकपा महासचिव बिष्णु पौडेलसहित बालुवाटारको जग्गा किन्नेलाई क्षतिपूर्ति दिनुपर्ने दोहोर्‍याएका छन् । पत्रकार सम्मेलनमा उनले जग्गा कारोबारीले सरकारी जग्गा किन्ने सबैलाई क्षतिपूर्ति दिनुपर्ने बताएका हुन् ।

सरकारले जग्गा फिर्ता अभियान सुरु गरिरहेको भन्दै मन्त्री बास्कोटाले जग्गा किन्ने भन्दा फसाउने बिचौलिया दोषी हुने जिकिर गरे । मन्त्री बास्कोटाले आफुलाई बुद्ध एयरले भैरहवामा एक दिन अलपत्र पारेको आरोप लगाउँदै आक्रोश पोखे । 

प्रतिक्रिया दिनुहोस्