शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना शुरु



कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना शुरु भएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोष (एनटिएनसी) को संयुक्त पहलमा पाँच वर्षपछि शुरु गरिएको बाह्रसिङ्गा गणनाका लागि २५ जनाको प्राविधिक टोली सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले वैशाख ५ गतेसम्म शुक्लाफाँटाभित्र रहेका मुलुककै ठुलो घाँसे मैदान, भदपुरीदेखि विभिन्न फाँटमा गणना कार्य भइरहेको जानकारी दिए ।

सन् २०१३ मा गरिएको गणनामा शुक्लाफाँटामा विश्वमै सबैभन्दा बढी दुई हजार ३०१ बाह्रसिङ्गा रहेका थिए । ‘अहिलेसम्मको गणनामा एक हजार नौ सयभन्दा बढी देखिसकेको छ’, गणनामा खटिएका निकुञ्जका  एक कर्मचारीले भने, ‘यो पाली बाह्रसिङ्गाको सङ्ख्या बढ्ने निश्चित छ ।’

    

पाँच वर्षपछि बाह्रसिङ्गा गणना भए पनि निकुञ्ज कार्यालयले हरेक वर्ष यहाँ नियमित अनुगमन गर्दै आएको थियो । बाह्रसिङ्गासँगै यहाँ रहेका निलगाईको समेत गणना भइरहेको छ ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटाले यहाँका सातवटा स्थानीय तहलाई छोएको छ । निकुञ्जभित्र रहेको मुलुककै ठूलो घाँसे मैदानमा आगन्तुकले सहजै बाह्रसिङ्गा हेर्न सकिने निकुञ्ज कार्यालयले जनाएको छ ।

    

त्यसैगरी निकुञ्जले ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ नारासहित २४ औँ वन्यजन्तु सप्ताहव्यापी कार्यक्रम मनाइरहेको छ । आइतबारदेखि शुरु भएको सप्ताहको दोस्रो दिन सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले शुक्लाफाँटाको विशेषता, वन्यजन्तुको अवस्था, भइरहेको गतिविधि र चुनौतीका विषयमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

    

शुक्लाफाँटामा १६ वटा पाटे बाघ, १७ वटा गैँडा र चार सयभन्दा बढी प्रजातीका चराचुरुङ्गी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्