नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ : प्रचण्ड



काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराएका छन् । दुई देशबीच ‘नेटवर्क’ मात्रै नभएर सुमधुर सम्बन्ध रहेको पनि उनले बताए ।

 

साथै सहअस्तित्वपूर्ण सम्बन्धलाई उचाइमा पुर्याउन दुबै देश प्रतिवद्ध रहेको उनकाे भनाइ छ । भौगोलिक, आर्थिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहेको उनले बताए।

 

भारतको नयाँदिल्लीमा ‘इन्डिया फउन्डेशन’को कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘इन्डिया आईडिया कन्क्लेभ’ नाम दिइएको दुईदिने सम्मेलनले नागरिक घोषणापत्र जारी गर्दैछ ।

 

भारतमा भएको पाचौँ सम्मेलनमा नेपालबाट प्रचण्ड सहभागी हुन पुगेका हुन् । यस क्रममा प्रचण्डले ज्ञान, दर्शन तथा विचार उत्पादनमा दक्षिण एसिया क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका थिए ।

विचारले मान्छेलाई असल र खराब, नैतिक र अनैतिकबीच फरक छुट्याउन सघाउने भन्दै दक्षिण एसियाली क्षेत्रमा उत्पादन भएका विचारले मानवजीवनका लागि योगदान दिएको उनकाे भनाइ छ ।

 

अभिव्यक्ति दिने क्रममा प्रचण्डले नेपालको सशस्त्र संघर्ष, संविधान तथा नयाँ परिवर्तनको समेत प्रसंग जोडेका थिए । नेपालको नयाँ परिवर्तन पनि नेपाली जनताको सोच र बलबाटै सम्भव भएको उनले बताए ।

 

साथै उनले नेपालमा दसकौं लामो राजनीतिक अस्थिरता र पीडादायी संक्रमणलाई व्यवस्थापन गर्दै नयाँ संविधान र व्यवस्था ल्याएको उल्लेख गरे । यस्तै नेपाली जनताको नयाँ आयामको स्वतन्त्रतामा आफूहरु केन्द्रित रहने पनि प्रचण्डले बताए ।

 

गरिबीबाट स्वतन्त्रता, अविकासबाट विकासको स्वतन्त्रताको लागि अब केन्द्रित हुने उनको भनाइ थियो । इन्डिया फाउन्डेशनको उक्त कार्यक्रमलाई सम्बोधन गरी प्रचण्ड शुक्रबार साँझ नै नेपाल फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्