
काठमाडौँ : युट्युबबाट हटाइएको 'लुट्न सके लुट् कान्छा…. गीतबाट विवादमा तानिएका पशुपति शर्माले पनि पदक पाएका छन् । तर उनी राष्ट्रपतिले प्रदान गर्ने पदक लिन भने गएनन् ।उनीसहित राष्ट्र र जनताका लागि उल्लेख्य योगदान दिने एक सय ४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पदकबाट सुशोभित गरेकी थिइन् ।
तर १४३ जनामा अटाउँदै प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्राप्त गरेका पशुपति पदक लिन भने गएनन् । सरकारले उनीसहित १० जनालाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) पदक प्रदान गरेको थियो । पदक लिन नगए पनि पशुपतिको नाम गृहमन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ ।
पदक थाप्न शीतल निवास नपुगेका पशुपति शर्माले बहिष्कार गरेको अनुमान धेरैले गरेका छन् । गीतका कारण विवादमा परेका उनको पदक सरकारले खोसेको पुष्टि भएको छैन । गृहमन्त्रालयको वेबसाइटमा राखिएको पदक पाउनेको सूचीमा उनको नाम यथावत छ।
गृहमन्त्रालयले पशुपतिको पदक यथावत रहेको जनाएको छ । पदक पाउनेहरुलाई सबैलाई सरकारले खबर पनि गरेको थियो । पदक पाउनेको सुचीमा रहेकाले पशुपतिलाई पनि सरकारी निकायले वेबसाइट, टेलिभिजन, रेडियो र टेलिफोनबाट खबर गरेका थिए ।
पदकका लागि गृहले एक साताअघि नै सार्वजनिक सूचना निकालेको थियो । गृहमन्त्रालयले निकालेको सुचनामा २६ चैतदेखि २९ गतेसम्ममा विभुषण पाउनेले राष्ट्रपतिको कार्यालय प्रवेशका लागि पास लिन भनेको थियो ।
तर गायक शर्माले भने पदकबारे आफूलाई सरकारी निकायबाट कुनै जानकारी नआएको बताएका छन् । उनले सरकारी कर्मचारीबाट फोन या अन्य माध्यमबाट जानकारी नगराएको पनि उल्लेख गरेका छन् ।
गत फागुन पहिलो साता सार्वजनिक भएको गीत 'लुट कान्छा लुट…..' मा दलका कार्यकर्तालाई कुकुर भनिएको भन्दै तीब्र विवाद भएको थियो । त्यसपछि उनले उक्त गीत युट्युबाट हटाएका थिए । उनले आफूलाई कसैले दबाब नदिएको बताए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मन नपराएकाले पशुपतिले गीत हटाएको जिकिर गरेका थिए ।