बाँकेमा बर्दिया र दाङका ३ जना कोरोना संक्रमितको मृत्यु



बाँके : बर्दिया र दाङका गरि तीन जना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक २३ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो । उनको सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका– ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि अर्थात् गएराति सवा ८ बजे उनको मृत्यु भएको हो ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उनको राति साढे ९ बजे मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।

प्रकाशित : कात्तिक २५, २०७७

प्रतिक्रिया दिनुहोस्