मुहार फेर्दै कमल ताल



रुकुम : ५२ पोखरी ५३ टाकुरीको नामले परिचित रुकुममा विभिन्न पर्यटकीय क्षेत्र रहेका छन्। ति पर्यटकीय क्षेत्रको विकास र संरक्षण हुन नसक्दा पर्यटकले भ्रमण गर्ने गरेका थिएनन्। तर, पछिल्लो समय भने यहाँका पर्यटकीय क्षेत्रको मुहार फेरिन थालेको छ।

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको कमल ताल ५ नम्बर प्रदेशकै प्रसिद्ध पर्यटकीय क्षेत्र हो। केहि वर्ष पहिलेसम्म संरक्षणको पर्खाइमा रहेको कमल ताल अहिले भने आकर्षक हुँदै गएको छ। जथाभावी नुहाउने, गाई भैसीलाई खुल्ला छोड्ने, फोहोर फाल्ने जस्ता कार्य हुँदै गएको ताल अहिले भने आकर्षक बनेको छ।

जिल्लाको मुख्य पर्यटकीयस्थल कमल तालको छेवैमा बगैंचा बन्ने निर्माणको काम समेत सञ्चालन भइरहेको छ। कमल ताललाई आकर्षक तथा थप हेर्न लायक बनाउन तालको पश्चिमतर्फ बगैंचा र अन्य संरचना निर्माण भएका हुन्।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले तीन करोड १६ लाख रुपैयाँमा ताल संरक्षणको काम गरेको हो। अहिले तालको पश्चिमतर्फ प्रवेशद्धार, टिकट काउन्टर, स्नानकक्ष तथा शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

तालको वरीपरी सात सय स्क्वायर फिटसम्म टायलसहितको पैदलमार्ग बन्ने छ। बगैंचा र ताल वरीपरी फलामको रेलिङ लगाइने छ। तालको वरपर तीन प्रतिक्षालय रहनेछन् भने पूर्व र पश्चिमतिर एक–एक शौचालय बनाइने छ। आगामी असार गतेभित्रै काम सक्ने गरेर अहिले तीब्र गतिमा काम सञ्चालन भइरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन्। 

निर्माणको काम सम्पन्न भएपछि कमल ताल व्यवस्थित र सुरक्षित हुने छ। प्रकृतिले बनेको ताल मानवीय क्रियाकलापले साँघुरिदै गइरहेको अवस्थामा संरक्षण हुने छ। कमल ताल हेर्न आउने मानिस अब मनपरी ढंगले भित्र छिर्न नपाउने हुँदा ताल वरीपरी फोहर हुने सम्भावना निकै कम हुने बरालको भनाई छ।

ताल वरीपरी बनाइने प्रतिक्षालयबाट पनि तालको अवलोकन गर्न तथा फोटो खिच्न सकिने भएको छ। तालको संरक्षण भएपछि स्थानीय तहलाई आम्दानीको स्रोत समेत हुने भएको छ। ताल हेर्न आउने पर्यटकलाई टिकट बेचेर आम्दानी हुने बताइएको छ।  अनुशासन पालना गराउनका लागि पनि थोरै रकम लिँदा राम्रो हुने सुझाव आइरहेको उनको भनाई छ।

यो तालमा जनडिस रोगको लागि प्रयोग हुने कमलको चारा समेत पाइने गर्दछ। ५ नम्बर प्रदेशमा यहाँ मात्र कमलका जरा पाइने गरेको स्थानीयको दाबी छ। कमलको जाराले विभिन्न रोगको उपचारमा प्रयोग हुने भएकाले यहाँका पानी समेत प्रयोगमा आउने स्थानीयवासी बताउँछन्।

कमलको फूल तथा जरा हेर्नको लागि पनि पछिल्लो समय पर्यटक आउने क्रम बढेको छ। देशका विभिन्न ठाउँ तथा विदेशबाट समेत पर्यटकहरू कमल ताल आवलोकनको लागि आउने गरेको बताइएको छ। विशेष गरेर कमलको फूल फुल्ने (जेठको अन्तिम देखी साउन) महिनामा अत्याधिक पर्यटक आउने गर्दछन्। 

प्रतिक्रिया दिनुहोस्