पत्रकार गिरीलाई थुनेपछि सरकार समर्थक पत्रकार नै सडकमा



काठमाडौँ : ‘ठगी’ को समाचार लेखेपछि पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाइ माग गर्दै अन्य पत्रकारहरु सडकमा उत्रिएका छन् । 

सूचना विभागमा दर्ता भइसकेको ताण्डव साप्ताहिक र ताण्डव न्यूज डकममा प्रकाशित ठगीसम्बन्धी समाचारलाई लिएर सम्पादक गिरीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएपछि पत्रकारहरु आन्दोलित भएका हुन् । 

सम्पादक अर्जुन गिरी पक्राउको बिरोधमा मंगलबार अपरान्ह बजे माइतीघर मण्डलमा बिरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य पनि सहभागी थिए । 

सम्पादक गिरीलाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा राखिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार नै आन्दोलित भएका हुन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस ंसेन्टरका नेताहरु पनि विरोधमा उत्रिएका छन् । 

अनलाइन पत्रकार संघको आयोजनामा मंगलबार बिरोध प्रदर्शन हुन भएको हो । पत्रकार गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । अदालतले म्याद थप गरेपछि उनलाई सीआईबीको हिरासतमा राखिएको छ । 

गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको थियो । 

तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छन् । विपेन्द्रराज बतासले पोखराका व्यवसायी जनकराज पहारीलाई २ करोड २५ लाख र मनोज श्रेष्ठलाई २ करोड ९८ लाख नतिरेको समाचार गिरीले छापेका थिए । 

प्रतिक्रिया दिनुहोस्