अब दिउँसो पनि मापसे चेकिङ हुने



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको छ ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सुरक्षा व्यवस्था थप कडा गर्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको हो ।

त्यसोत महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ । त्यसै अन्तर्गत तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

‘तिहार लक्षित थप सुरक्षा योजना लागू भइसकेको छ । त्यसलाई थप सक्रिय बनाएका छौं । अब दिउँसो पनि शंका लागेमा मापसे चेकिङ हुन्छ,’ एसएसपी ढकालले भने ।

महाशाखाले दशैं तथा तिहार लक्षित सुरक्षामा योजनाको लागि ७ सय ४९ प्रहरीको जनशक्ति थप गरेको छ । त्यस्तै अन्य समयमा हुने चेकिङ प्वाइन्टहरु पनि थप गरिएको एसएसपी ढकालले जानकारी दिए ।

प्रकाशित : कात्तिक २६, २०७७

प्रतिक्रिया दिनुहोस्