मंसिर २८ देखि त्रिविमा बीएससी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा (तालिकासहित)



काठमाडौं : त्रिभुवन विश्वविद्यालयले चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीका कारण प्रभावित परीक्षा आगामी मंसिर २८ गतेबाट सञ्चालन हुने भएको हो । विद्यार्थीले घर पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि समय तालिकासमेत प्रकाशित गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन र शिक्षाशास्त्र संकायको परीक्षा तालिका सार्वजनिक गरिएको हो ।

मंसिर २८ गते बिहान ८ बजेबाट परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ । कार्यालयले विद्यार्थीलाई आफूलाई पायक पर्ने परीक्षा केन्द्र रोज्न अनलाइन आवेदन माग गरेको थियो । केन्द्र नरोजेका विद्यार्थीले त्रिविले तोकेभन्दा अन्य ठाउँबाट परीक्षा दिए रद्द गरिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयमार्फत सञ्चालन हुने परीक्षामा सहभागी हुने परीक्षार्थी एक लाख छन् । तीमध्ये तीन हजारले घरपायक केन्द्रबाट परीक्षा दिन आवेदन दिएको त्रिविका रजिस्ट्रार पेशल दाहालले जानकारी दिए ।

अन्य विद्यार्थीको हकमा पहिले जस्तै साबिकका परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने दाहालले बताए ।

सरकारले परीक्षा सञ्चालन गर्न रोक लगाएका कारण गत चैत ७ गतेदेखि त्रिविका परीक्षा रोकिएका थिए ।

सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि विद्यार्थीलाई पायक पर्ने गरी कक्षा १२ को पनि संक्षिप्त परीक्षा परम्परागत विधिबाटै सञ्चालन गरिने भएको छ । मंसिर ९ गतेबाट देशभर परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले समयतालिका सार्वजनिक गरिसकेको छ ।

परीक्षा तालिका

प्रकाशित : कात्तिक २६, २०७७

प्रतिक्रिया दिनुहोस्