चट्याङले बारामा ६ जना घाइते, फेटाका हुरीपीडितको टेन्ट पनि उडायो



बाराको : मंगलबार राति बर्षातसँगैको चट्याङले लागेर कलैया उपमहानगरपालिका-१३ मा ६ जना घाइते भएका छन् । यहाँको धरान नगरस्थित महल इँटा उद्योगमा चट्याङ लागेर ६ जना मजदुर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी नवीन कार्कीले जानकारी दिए । 

चट्याङ लागेर घाइते हुनेमा २ नेपाली र ४ भारतीय नागरिक छन् । प्रहरीका अनुसार चट्याङ लागेर  बाराको कोतवालीका नैमुद्दिन अन्सारी र त्यही स्थानकी ६० वर्षीया सल्मा खातुन घाइते भएका छन् । 

घाइते हुने भारतीयहरुमा बिहारको सीतामढीका मजदुरहरु कलेश्वर राम, भन्टु पासवान, रामप्रवेश राम र जितन पासवान रहेका छन् । उनीहरुको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर मजदुर बस्ने छाप्रोमा आगलागी भएको थियो । छाप्रोमा लागेको आगो कलैया नगरपालिकाको दमकलको सहयोगमा निभाइएको डिएसपी कार्कीले बताए । 

फेटामा छाप्रो उडायो 

मंगलार साँझको हावाहुरीले फेटा गाउँपालिकामा यसअघिका हुरीपीडितहरुको टेन्ट उडाएको छ । फेटा गाउँपालिका-१, भलुही भरबलिया, वडा ३ र ६ को पुरैनिया र गछिया टोलमा  दर्जनौँ टेन्ट उडाएको हो । 

वडा नम्बर १ भलुही भरबलियामाा पनि आधा दर्जन टेन्ट उडाएको जानकारी स्थानीयबासीले दिएका छन् । ती टेन्ट चीनसहितका देश तथा नेपालस्थित स‌ंघ संस्थाले उपलब्ध गराएका थिए । टेन्टमा अस्थायी बसोबासको व्यवस्था नेपाली सेना र शशस्त्र प्रहरीले गरिदिएका थिए । टेन्ट नै उडाएपछि बालबालिका र महिलालाई सबैभन्दा समस्या परेको छ । 

चैत १७ गतेको शक्तिशाली चक्रावतका कारण फेटा गाउँपालिकामा ठुलो क्षति भएको थियो । घरबार गुमाएका यहाँका बासिन्दा अहिले पनि खुला आकाशमुनि खाना पकाएर खान बाध्य छन् । 

प्रतिक्रिया दिनुहोस्