‘रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिन्‍नँ’



संखुवासभा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । उनले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताए ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफूले कुनै पनि हालतमा राजीनामा नदिने पनि दोहोर्‍याएका छन् ।

चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी र जोगवनी-खाँदबारी-किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने बताएका हुन् ।

सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको पनि प्रधानमन्त्री ओलीको दाबी थियो । जनताले आवश्यकता देखेर, देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको उनको भनाइ थियो ।

५० ववर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै अहिले यहाँसम्म पुगेको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले बताए ।

पछिल्लो समय सत्तारुढ नेकपामा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालबीच विवाद बढिरहेको छ । दाहाललगायत सचिवालयका ६ जना नेताले बैठकको माग गरिरहेका छन् भने अध्यक्ष ओलीले त्यसमा सहमति जनाएका छैनन् । पार्टी विवाद बढिरहेका बेला केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्रीबाट राजीनामा नदिने अभिव्यक्ति ओलीले दिएका थिए ।

प्रधानमन्त्री ओलीले जोगवनी-खाँदबारी-किमाथांका सडक सुरक्षित भएको पनि बताए । उनले यो सडक निर्माण भए चीनसँगको व्यापार झनै बढ्ने बताए । यो सडक खण्ड अब तुरुन्तै निर्माण सकिने र चीनबाट सहज ढंगले व्यापार सुरु हुने उनको भनाइ थियो ।

नेपालका लागि अत्यन्तै महत्वपूर्ण बाटो जोगवनी-किमाथांका भएको कुरा प्रधानमन्त्रीले सम्बोधनका क्रममा राखेका थिए ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संघीय सांसद राजेन्द्र गौतम र परशुराम मेघी गुरुङलगायत प्रदेश सांसदहरू पनि प्रधानमन्त्रीसँग संखुवासभा पुगेका थिए । कान्त्पिुर दैनिकमा दीपेन्द्र शाक्यले लेखेका छन् ।

प्रकाशित : कात्तिक २७, २०७७

प्रतिक्रिया दिनुहोस्