‘तान्ने प्रथा’ अझै, कानुन छ, गाउँमा छैन



गोरखा  : ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो ।

‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो । अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र भाइलाई बोलाएँ । हामीले यतातिर, उनीहरूले उतातिर, एकछिनसम्म बहिनीलाई तानातान भयो ।

भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे । आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली ।’ ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ । तर, यो राजधानीबाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो ।

लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन् । केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्‍यो । अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन् । उतैबाट विदेश लागिन् ।

कानुनमा के छ ?

मञ्जुरीबिना विवाह गर्ने–गराउनेलाई कानुनले दण्डजरिबानाको व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७२ मा महिला वा पुरुष जो कसैको मञ्जुरी नभई भएको विवाह बदर गर्न सक्ने उल्लेख छ ।

त्यस्तै मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७२ ले मञ्जुरीबिना विवाह गर्न नहुने र कसैले गरे–गराएको छ भने त्यो व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ । मुलुकी अपराध संहिता ऐन २०७४ कै दफा ३२ ले मञ्जुरीबिना विाह गरेमा क्षतिपूर्तिको व्यवस्थासमेत गरेको छ । याे सम्बन्धी विस्तृत समाचारका लागि आजकाे अन्नपूर्ण पाेस्टमा हेर्नुहाेला ।

प्रतिक्रिया दिनुहोस्