नेवानिको अर्को अनियमितता, दुबईमा महँगोमा होटल कोठा लिने सम्झौता



काठमाडौं : नेपाल वायुसेवा निगमले क्याबिन क्रु (जहाजका कर्मचारी) राख्न बढी मूल्यमा दुबईको होटलसँग सम्झौता गरेको फेला परेको छ। दुबईको हिल्टन गार्डेन होटलले अनलाइनमा राखेको दररेटभन्दा निगमले महँगोमा सम्झौता गरेको हो। सामान्यतः एक दिनका लागि कोठा भाडामा लिनेलाई भन्दा लामो समय लिनेलाई होटलहरुले सस्तोमा दिन्छन्। तर, निगमसँग झन् महँगो भाडा लिने सम्झौता छ।

निगमले गत जनवरीमा आफ्ना जहाजका आठ क्याबिन क्रु राख्न दुबईस्थित हिल्टन गार्डेन इन दुबई अल मुरकावात होटलसँग ६ वटा कोठा दुई वर्षका लागि भाडामा लिने सम्झौता गरेको हो। निगम स्रोतका अनुसार ६ वटा कोठा प्रतिदिन प्रतिकोठा तीन सय ८५ दिराम तिर्ने गरी सम्झौता गरिएको छ। तर, होटलले अनलाइन बुकिङमा राखेको सबैभन्दा महँगो ‘किङ रुम’को दररेट नै निगमसँग सम्झौता गरेको सामान्य कोठाभन्दा कम छ। होटलले किङ रुमको दर ब्रेकफास्टसहित एक रातको तीन सय दिराम राखेको छ।  

निगमले सम्झौता गरेको कोठामा एउटा ‘सुपेरियर किङ रुम’ छ। जसमा जहाजका क्याप्टेन बस्छन्। त्यसैगरी, ‘डबल रुम’ तीनवटा छन्। तीमध्ये एउटामा एकजना को–पाइलट र बाँकी दुईमा एक–एकजना क्याबिन क्रु बस्छन्। त्यसैगरी, ट्विन रुम दुइटा छन्। तीमध्ये एउटा रुममा दुई–दुईजनाका दरले चारजना एअरहोस्टेस बस्छन्।  

म्झौता गर्ने अपरेसन विभागका प्रमुख आरके शेरचन भने महँगो मूल्यमा नभएर निगमलाई नाफा हुने गरी सम्झौता गरेको बताउँछन्। ‘अघिल्लोपटक तीन सय ९० दिराममा सम्झौता गरिएकामा यसपटक तीन सय ८५ मा सम्झौता गर्दा प्रतिरुम दैनिक पाँच दिराम भए पनि निगमलाई नाफा भएको छ,’ उनले भने, ‘त्यसैले हिसाब गर्ने कि, होटलले कतिमा रुम बेचिरहेको छ भनेर हेर्ने ?’ उनका अनुसार कोटेसन लिएर प्रतिस्पर्धामा कम कोटेसन दाबी गर्नेसँग सम्झौता गरिएकाले शंका गर्ने ठाउँ छैन। 

निगम स्रोत भने महँगो मूल्यमा होटलसँग सम्झौता गरेर प्रतिरुम दैनिक निश्चित कमिसन चाहिँ उनले बुझिरहेको दाबी गर्छ। स्रोतका अनुसार एक रुम बराबर एक सय दिराम बुझ्दा ६ रुमको ६ सय दिराम हुन्छ। उक्त रकम भनेको नेपाली १८ हजार हुन्छ।

स्रोतको दाबीअनुसार दैनिक निगमका कर्मचारीले १५ देखि २५ हजारको बीचमा होटलबाट कमिसन लिने गरेका छन्। यो क्रम सम्झौता अवधिभर रहन्छ। याे सम्बन्धी विस्तृत समाचार आजकाे नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्