अमेरिकाको सिनेटमा पहिलो पटक परलिङ्गी सांसद



काठमाडौं : डेलवेअर राज्यबाट निर्वाचनमा विजयी भएपछि सारा म्याक्ब्राइड संयुक्त राज्य अमेरिकाको पहिलो परलिङ्गी सिनेटर बन्ने भएकी छन्।

रिपब्लिकन स्टीभ वाशिङ्टनलाई हराउँदै डेमोक्र्याटिक ह्यारिस म्याक्डोवेलको ठाउँमबाट उनी निर्वाचित भएकी हुन्।

बीबीसी नेपाली सेवाका अनुसार तीस वर्षीया म्याक्ब्राइडले एलजीबीटी अधिकारको पक्षमा वकालत गर्ने ह्यूमन राइट्स क्याम्पेनमा प्रेस सचिवको रूपमा काम गरेकी छन्।

उनले ओबामा कार्यकालमा ह्वाइटहाउसमा प्रशिक्षार्थीका रूपमा पनि काम गरेकी थिइन्।

उनी देशकै सबैभन्दा उच्च पदमा पुग्ने परलिङ्गी बनेकी छन्।

भर्मन्टमा २६ वर्षीया टेलर स्मल हाउस अफ रेप्रिजेन्टटिभ्सका लागि निर्वाचित भएकी छन्।

उनी उक्त राज्यकी प्रथम परलिङ्गी सांसद हुन्।

बीबीसीका अनुसार न्यूयोर्कबाट ३२ वर्षीय रिची टोरेस कङ्ग्रेसका पहिलो अश्वेत समलिङ्गी सदस्यका रूपमा निर्वाचित भएका छन्।

उनीसँगै अर्का समलिङ्गी उम्मेदवार मोन्डेअर जोन्सले पनि विजयी भएका छन्।

नोर्थ क्यारलाइनाबाट २५ वर्षीय म्याडिसन कअथोर्न यसपालि निर्वाचित हुने कान्छा उम्मेदवार बनेका छन्। उनी सन् १९९० को दशकमा जन्मिएका हुन्।

एरिजोनाबाट पूर्वअन्तरिक्षयात्री सिनेटमा

जोर्जिआ सजिलै जितेकी ४६ वर्षीया मार्जरी टेलर ग्रीनलाई अमेरिकी सञ्चारमाध्यमहरूले खुला रूपमा “क्यूएनन” षड्यन्त्रको सिद्धान्तको समर्थन गर्ने पहिलो अमेरिकी सांसदका रूपमा चित्रण गरिरहेका छन्।

उक्त विवादित मान्यताका अनुसार सत्ता, व्यापार र सञ्चारमाध्यममा भएका दुष्टात्माहरूको पूजा गर्ने बालयौनदुराचारीविरुद्ध डोनल्ड ट्रम्पले गोप्य युद्ध गरिरहेका छन्।

गत अगस्ट महिनामा ग्रीनले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा क्यूएनन सिद्धान्तबाट आफूलाई टाढै राख्ने प्रयास गरेकी थिइन्।

उनी स्वयंले चाहिँ आफूले पश्चिमोत्तर जोर्जिआबाट निर्वाचित हुने पहिलो महिला सांसदको कीर्तिमान बनाएको बताएकी छन्।

अनि अन्तरिक्षयात्री मार्क केलीले एरिजोना राज्यमा जित हात पार्दै सिनेटसम्मको यात्रा सुनिश्चित गरेका छन्।

तर उनी सिनेटमा निर्वाचित हुने पहिलो अन्तरिक्षयात्री भने होइनन्। यसअघि ओहायोका पूर्वसिनेटर जोन ग्लेनको नाममा उक्त कीर्तिमान छ। सन् १९७४ मा पहिलो पटक निर्वाचित उनी सन् १९९९ सम्म सिनेट सदस्य थिए।

प्रकाशित : कात्तिक २९, २०७७

प्रतिक्रिया दिनुहोस्