बाँके निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव



बाँकेः  पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन् ।   

पानी नहुँदा निकुञ्जबाट जनावर बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी बताउनुहुन्छ । निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् ।    

पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त चाहिन्छ । तर, ५५० वर्गकिलोमिटरको निकुञ्जमा २६ कृत्रिम पानीका पोखरी निर्माण भएका छन् । जहाँ हिउँदमा पानी हुँदैन । निकुञ्जका अनुसार, १० वर्गकिलोमिटर क्षेत्रमा एउटा पानीको स्रोत आवश्यक पर्ने हुँदा निकुञ्जमा कम्तीमा ५५ पोखरी चाहिन्छ । जसमा बाह्रै महीना पानी हुनुपर्छ ।    

निकुञ्ज भएर बग्ने सिक्टा सिँचाइको नहर वन्यजन्तुले पानी पिउन सक्ने प्रकारको छैन । जसका कारण पानी पिउन नहर पसेका चित्तल डुबेर मर्ने गरेको निकुञ्जले जनाएको छ । प्रमुख संरक्षण अधिकृत रेग्मी जनावरले पानी पिउन सक्ने संरचना नहरमा बनाउन निकुञ्जले सिँचाइ आयोजनासँग मिलेर अध्ययन गरिरहेको बताउनुहुन्छ ।   

पानी खोज्न गाउँ पुगेका कैयौँ चित्तल मानिसको आक्रमणले घाइते भएको पनि उहाँको भनाइ छ । राप्ती नदीको केही भाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने निकुञ्जको सीमामा बबई नदी छ । बबईमा निर्माण भइरहेको भेरी डाइभर्सनबाट निकुञ्जमा पानी ल्याउने सम्भावना छ । निकुञ्जभित्र खहरे खोलाहरू मात्र रहेकाले पानीको अरू स्रोत देखिँदैन ।   

निकुञ्जका अनुसार करीब ६० प्रतिशत भूभाग भावर र चुरे क्षेत्रमा पर्दछ । वर्षायाममा बाहेक अन्य सिजनमा पनि पानीको अभाव हुने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार भावर क्षेत्रमा पानी सोस्ने र चुरे क्षेत्रमा मुहान भेटिए पनि जनावरको उपस्थिति नहुने भएकाले समस्या छ । अधिकांश वन्यजन्तुको बासस्थान भावर क्षेत्रमा रहेको निकुञ्जले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्