भीषण वर्षाले गलकोटमा करिब ५ करोडको क्षति, ३ सय रोपनी खेत बन्यो बगर



म्याग्दी : बागलुङको पश्चिमी क्षेत्र गलकोटमा आइतबारदेखिको भीषण वर्षा र बाढीले करिब ५ करोड बराबरको क्षति भएको छ।

बाढी पसेको ३ सय रोपनी खेत बगरमा परिणत भएको छ। गलकोट नगरपालिका–१ ददिलाभाटीमा सबैभन्दा धेरै क्षति भएको छ। बाढीले गलकोट नगरपालिकाका करिब २ दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

बाढीले बस्ती जोखिममा पर्दा सामान्य तटबन्ध बनाउन करिब १ करोड ५० लाख लाग्ने गलकोट नगरपालिकाले जनाएको छ। गलकोट नगरपालिकामा प्राप्त विवरणअनुसार करिब १ करोड बराबरको कृषि उपज तथा पशुचौपाय, करिब ५० लाख बराबरको खानेपानी, ५० लाख बराबरको लघु जलविद्युत गृह, २० लाख बराबरको कुलोमा क्षति भएको छ। ग्रामीण सडकसमेत अवरुद्ध भएको छ। खोला आसपासका तटीय क्षेत्र, हटिया बजार, नरेठाँटी बजार र अन्य बजारसमेत जोखिममा परेका छन्।

वैशाख १ गतेको भीषण असिना पानीसहितको बाढीले गलकोट नगरपालिकाको दुदिलाभाटी, नरेठाँटि, हटियालगायत क्षेत्रमा क्षति गरेको छ। उक्त प्राकृतिक विपत् व्यवस्थापन गर्न गलकोट नगरपालिका विपद् व्यवस्थापन समितिको आयोजनामा बसेको आकस्मिक सर्वदलीय बैठकले विस्थापित र प्रभावितलाई राहत सहयोग गर्न कोष सञ्चालन गर्ने निर्णय गरेको छ। गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेनुका काउचाले १÷१ महिनाको भत्ता तथा सुविधा जम्मा गरी विपद् व्यवस्थापन कोष सुरु गरेका छन्।

कोषमा गलकोट नगरपालिकाका सबै जनप्रतिनिधिले एक महिनाको सुविधावापत पाउने रकमको कम्तिमा ३० प्रतिशत कोषमा जम्मा गर्ने भएका छन्। त्यसैगरी गलकोट नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारीले पनि कोषमा सहयोग गर्ने निर्णय गरेका छन्। यहाँ भएका अन्य संघसंस्था, देश विदेशमा रहेकाहरूबाट सहयोग संकलन गरी बाढी प्रभावितलाई सहयोग गर्ने गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्