बैतडी बस दुर्घटना : मृतकका आफन्तले शव बुझे, चालक प्रहरी नियन्त्रणमा



बैतडी : बिहीबार राति बैतडीमा भएको बस दुर्घटनामा परि मृत्यु भएका परिवारका आफन्तले शव बुझेका छन् ।

जिल्ला अस्पताल बैतडीमा शुक्रबार साँझ शवको पोष्टमार्टम गरि अन्तिम संस्कारका लागि शनिबार शव आफन्तहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा ७ पुरुष र २ महिला गरि ९ जनाको मृत्यु भएको थियो । मृतक ३ जना दोगडाकेदार गाउँपालिका ६ का हुन् भने २ जना दार्चुलाका , २ जना कैलाली र २ जना कञ्चनपुका हुन् ।

यस्तै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना परि घाइते भएका चालक दोगडाकेदार गाउँपालिकाका वीरेन्द्र कार्कीलाई अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार चालकलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान पनि सुरु गरिएको छ । नियन्त्रणमा लिएका चालकमाथि सवारी ज्यान मुद्दा अन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको उनले बताए ।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर पाटन नगरपालिका-८ को खोड्पे बजार नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ३४ जना घाइते छन् । उनीहरु मध्ये २२ जनाको डडेल्धुरा र १२ जनाको धनगढीमा उपचार भइरहेको छ । मृतकका परिवारलाई पवनदूत अटो मेनेजमेन्ट प्रालिले जनही ५० हजारका दरले किरिया खर्च पनि उपलब्ध गराएको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित : कात्तिक ३०, २०७७

प्रतिक्रिया दिनुहोस्