विप्लवविरुद्धको कारबाही किन सुस्तायो ? गृहमन्त्री भन्छन् : वार्ता हुँदैछ



हेटौँडा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाविरुद्धको सरकारी कारबाही सुस्ताएका बेला गृहमन्त्री रामबहादुर थापा बादलले वार्ता प्रयास भइरहेको खुलासा गरेका छन् । 

गृहमन्त्रायले गरेको प्रदेश ३ स्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार हेटौँडामा उदघाटन कार्यक्रममा उनले हिंसाको बाटो अपनाएका विप्लवसँग वार्ता भइरहेको बताएका हुन् ।

यद्यपि उनले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने चेतावनी दिए । 'विप्लव समुहलाई मुलधारको राजनीतिमा ल्याउने प्रयत्न भइरहेको छ', उनले भने, 'विप्लवमाथिको प्रतिबन्धले वार्तालाई असर गर्दैन । सरकारले सधैँ वार्ताको ढोका खुल्ला गरेको छ ।'

बादलले कानून अनुसार नै विप्लवमाथि प्रतिबन्ध लगाइएको बताए । ‘संविधानको पालना नगरी हिंसात्मक गतिविधि गर्ने जो कोहीलाई कारबाही गरिन्छ', उनले भने, 'यो वा त्यो समुह भन्ने हुँदैन । सरकारले सुरक्षा चुनौती पन्छाउँदै गएको छ ।'

गृहमन्त्री थापाले संविधान-राज्य विरोधी र विखण्डनकारी तत्वलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाएको बताएका छन् । चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता नियन्त्रण गर्न सरकारले विशेष अभियान सुरु गरेको बादलले जानकारी दिए । 

सुरक्षा गोष्ठीमा सुरक्षा प्रमुखहरुसहित प्रदेश ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पदाधिकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्