सुर्खेतमा प्रधानमन्त्री ओलीको भाषणपछि नयाँ तरङ्ग : बाँके–बर्दिया गाभिएलान् कर्णाली प्रदेशमा ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ मा रहेका बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने विषय उठाएका छन् । भेरी–बबई डाइभर्सन सुरुङ निर्माणको ब्रेक थ्रू कार्यक्रममा उनले दुवै जिल्ला कर्णालीमा गाभ्ने विषय उठाएका हुन् । बर्दियावासीले आफूहरूलाई प्रदेश ५ माभन्दा कर्णाली प्रदेशमा गाभिँदा सहज हुने बताइरहेका बेला प्रधानमन्त्री ओलीले पनि यसबारे सुर्खेतमा बोलेका हुन् ।

प्रदेश ५ मा रहँदा बर्दियावासीले राजधानी बुटवल पुग्न सयौँ किलोमिटर छिचोल्नुपर्ने तथा भौगोलिक तालमेल पनि नमिल्ने भन्दै कर्णालीमा गाभ्न माग गर्दै आएका छन् । प्रदेश ५ को पश्चिमद्वार बर्दियालाई कर्णालीमा गाभ्न माग राखी आन्दोलित स्थानीयलाई प्रधानमन्त्री ओलीले हरियो झण्डा देखाएका छन् ।

प्रधानमन्त्री ओलीले बाँके र बर्दियालाई कर्णालीमा राख्न खोज्दा आफ्नो पुत्ला जलाइएको गुनासो गरे । बाँके र बर्दियालाई कर्णालीमा राख्नु पर्ने माग दुवै जिल्लाबाट उठ्न थालिरहँदा प्रधानमन्त्री ओलीले  यो विषय उठाएर उनले स्थानीयको मागमा समर्थनको संकेत दिएका हुन् । बाँके र बर्दियाका लागि प्रदेश ५ को राजधानी बुटवल धेरै टाढा पर्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत दुवै जिल्लालाई पायक मानिन्छ ।

‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्न मैले बल गरेको थिएँ’, प्रधानमन्त्री ओलीले भने, ‘यी दुई जिल्लालाई अझै पनि कर्णालीमा लैजान सकिन्छ ।’ उनले यसो भनिरहँदा कर्णाली र प्रदेश ५ का मुख्यमन्त्री मञ्चमा सँगै थिए ।

‘त्यो बेला मैले संविधानसभामै बाँके र बर्दियालाई कर्णालीमै राख्नुपर्छ भनेको थिएँ, त्यसो भन्दा मेरो पुत्ला दहन गरियो’, प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली होस् या बाँके बर्दिया होस, जहाँको भए पनि देशको विकास हुन्छ । त्यसका लागि कुनै दुःख मान्नु पर्ने छैन ।’

कर्णाली जान तयार बर्दियावासी 

एक महिनाअघि प्रदेशको नामकरण र स्थायी राजधानी सिफारिसका लागि प्रदेश सचिवालयले बर्दियामा गरेको सुझाव संकलन गरेको थियो । त्यस क्रममा स्थानीयले बर्दियालाई कर्णालीमै लैजान माग गरेका थिए । स्थानीयका तर्फबाट बर्दिया विकास सरोकार मञ्चले जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न माग गरेको हो ।

बर्दिया विकास सरोकार मञ्चका संयोजक दिनेशप्रसाद श्रेष्ठले कर्णालीको राजधानी सुर्खेतसँग नङ र मासुजस्तो सम्बन्ध भएको बर्दियालाई छुट्याएर अर्को प्रदेशमा राख्नु अस्वाभाविक र मूर्खता भएको बताएका थिए ।

तराईका छिमेकी जिल्लाबाट ओझेलमा पारिँदै आएको बर्दिया सभ्यताको सुरुवातदेखि नै कर्णालीको समतल भूभाग रहेको स्थानीयको तर्क छ । कर्णाली प्रदेशको दक्षिण ढोका बर्दिया र कर्णाली एकै प्रदेशमा हुनुपर्ने अडान उनीहरूको छ ।

बर्दिया कर्णाली क्षेत्रको पर्वतीय आवागमन, पर्यटन, वस्तु विनिमय, व्यापार तीर्थाटनको एउटा केन्द्र हो । कृषि र सिँचाइमा कर्णाली प्रदेशका नदीकै पानी उपयोग हुने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको ५९ दशमलव ३४ प्रतिशत चुरेक्षेत्र सुर्खेतमा पर्छ । त्यसैले सुर्खेत र बर्दियालाई विभाजित गर्न नहुने स्थानीयले आवाज उठाउँदै आएका छन् ।

कर्णाली प्रदेशका प्रमुख सक्रिय 

तराईसँग नजोडिएको कर्णालीमा बाँके र बर्दिया गाभ्न प्रदेश प्रमुख दुर्गाकेशर खनाल सक्रिय छन् । सुरूमै कर्णालीमा समावेश गरिनुपर्ने दुवै जिल्ला छुटेको भन्दै उनले आफ्नो कार्यकालमा कर्णालीमा गाभ्न पहल गर्ने बताइसकेका छन् । बाँके र बर्दियाका अधिकांश बासिन्दाको रहनसहन, भेषभुषा, भाषा र संस्कृति कर्णालीसँग मिल्ने तर्क उनको पनि छ ।

सम्भव होला ? 

प्रदेश ५ को प्रमुख नाका नेपालगन्ज उपमहानगरपालिकाको मेयर भएपछि डा. धवलशमशेर राणाले बाँके र बर्दियालाई कर्णालीमा गाभ्न आन्दोलन गर्ने बताएका छन् । उनी जस्तै विभिन्न शक्ति यी दुई जिल्लालाई कर्णालीमा गाभ्ने लबिङमा छन् ।

बाँकेवासीलाई प्रदेश राजधानी बुटवल जानआउन ६ घण्टा लाग्ने उनको तर्क छ । तर सुर्खेत दुई घण्टामै पुग्न सकिन्छ । ‘मुख्यमन्त्रीलाई बुटवलमा भेटेर आउँदा मलाई ६ घण्टा लाग्यो । जान एक दिन फर्किन एक दिन लाग्छ । सुर्खेत दुई घण्टामै पुगिन्छ । हाम्रो व्यवसाय र सामाजिक सबै गतिविधि यतै छ । उनीहरूसँग भारतीय नाका छैन । तराई छैन, अन्न उब्जनी गर्ने खेत छैन’, उनले एक दैनिकलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीसँग पनि पहाड छैन, हिमाल छैन । चीनसँग लिङ्क छैन । हामी कर्णालीमा गयौं भने त्यो सबैभन्दा सम्भावनायुक्त प्रदेश हुन्छ ।’

तर बाँके र बर्दियालाई कर्णालीमा लैजान त्यति सजिलो छैन । प्रदेश सीमांकन हेरफेर गर्न नेपालको संविधानको धारा २७४ को उपधारा ४ देखि १० सम्म संशोधन गर्नुपर्छ । यसो गर्न चारवटा प्रदेशको सहमतिसहित संघीय संसद्को दुई तिहाइ बहुमतबाट स्वीकृति चाहिन्छ । यो प्रक्रिया त्यति सरल र सोझो छैन । यी दुई जिल्ला कर्णालीमा गाभ्न खोज्दा मधेसी, मुस्लिम, थारू, राणा, ठकुरी र रैथानेको अवस्थामा पनि ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्