सर्लाहीमा ‘गो ब्याक चाइना’ नारा, गाई ल्याउन खोजेकोमा विरोध



मलंगवा : प्रदेश सरकारले चीनबाट गाई ल्याउन खोजेको विरोधमा प्रदर्शन भएको छ । सर्लाहीको सदरमुकाम मलंगवामा बुधबार जम्मा भएका केही युवाहरुले चीनविरोधी नारासहित प्रदर्शन गरेका हुन् । 

जनजागृति युवा क्लबका अध्यक्ष सागर यादवको नेतृत्वमा चीनबाट गाई ल्याउन लागिएको विरोधयमा युवाहरुले सांकेतिक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले 'गो ब्याक चाइना', 'विदेशी गाई चाहिँदैन', 'नेपाली कृषकमाथि खेलवाड गर्न पाइँदैन' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

चीनबाट गाई ल्याउन प्रदेश २, प्रदेश ३ र गण्डकी सरकारले यसअघि नै सम्झौता गरिसकेका छन् । सबैभन्दा पहिले प्रदेश ३ को सरकारले नेपाललाई दुधमा आत्म निर्भर बनाउन भन्दै चार हजार गाई चीनबाट ल्याउने सहमति गरेको थियो । 

चीनबाट गाई ल्याउने निर्णयको विरोधमा यसअघि प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा युवाहरुले ‘चाइना गो ब्याक’ नारा लगाएका थिए । चीनसँग मिलेर प्रदेश २ सरकारले कृषि परियोजना चलाउन लागेको भन्दै राजबिराजमा पनि यसअघि प्रदर्शन भएको छ ।

स्थानीय युवा, विद्यार्थी, किसान र नागरिक समाजका अगुवाहरूले सोमबार चिनियाँ परियोजना संचालन नगर्न भन्दै प्रदर्शन गरेका थिए । उनीहरूले चीनको ऋण नलिन दबाबका लागि प्रदर्शन गरेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्